२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कोलोराडो घोषणापत्र जारी गर्दै सकियाे अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

९ जना महिला साहित्यकारलाई अनेसास नवरत्न साहित्य सम्मान

Nada
२०८३ जेठ १२ गते ११:५१
Shares
कोलोराडो घोषणापत्र जारी गर्दै सकियाे अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

अमेरिका : अमेरिकाको कोलोराडो मा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा तीन दिने सम्मेलन सम्पन्न भएको हो ।

ncell

कोलोराडोको वेस्टमिनिस्टरस्थित होटल ड्ररीमा आयोजित सम्मेलनमा नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्धन, युवा पुस्तालाई लेखनमा प्रोत्साहन तथा विश्वभरका नेपाली समुदायलाई साहित्यसँग जोड्ने विषयमा विभिन्न निर्णय गरिएको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा वार्षिक साहित्यिक जर्नल प्रकाशन, युवा लेखकलाई लेखवृत्ति प्रदान, प्रकाशोन्मुख पाण्डुलिपि सम्पादनका लागि विज्ञ सहयोग उपलब्ध गराउने, बाल प्रतिभा पुरस्कार स्थापना तथा लेखन प्रशिक्षण सञ्चालन गर्ने लगायतका योजना समेटिएका छन् ।

सम्मेलनका क्रममा ९ जना महिला साहित्यकार तथा साहित्य अभियन्तालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा रेणुका सोल, रिजा प्रधान, सीतादेवी बास्तोला, सवि श्रेष्ठ, सीता अर्याल, कमला न्यौपाने, लक्ष्मी श्रेष्ठ, आना स्टिर र विष्णु घले रहेका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्धन, अध्ययन र लेखनमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा तथा अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अमेरिकी साहित्यकार डा. ज्याकलिन केरबेक, कोलोराडोका स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्मेलनमा एक सयभन्दा बढी पुस्तक विमोचन गरिनुका साथै करिब १४० साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए । ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ लगायत विभिन्न विषयमा केन्द्रित सेसनमा साहित्यकार, पत्रकार र लेखकबीच बहस तथा अन्तरक्रिया गरिएको थियो । उक्त सेसनमा लेखक तथा पत्रकार सुधीर शर्मा र बसन्त बस्नेतलगायतको सहभागिता रहेको थियो ।

यस्तै नेपाली महिला साहित्य, नेतृत्व र साहित्य, समकालीन अभिव्यक्ति तथा डायस्पोरामा नेपाली साहित्य प्रवर्धनमा सञ्चारमाध्यमको भूमिकाबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा नेपाल र अमेरिकाबाट साहित्यकार, पत्रकार, लेखक तथा कलाकारहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

अनेसासका महासचिव राजु सिटौलाले यसपटकको सम्मेलनमा साहित्यकारसँगै पत्रकार, लेखक र युवापुस्ताको सक्रिय सहभागिताले नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्धनमा नयाँ आयाम थपिएको बताए । उनले आगामी दिनमा युवा पुस्ताको सहभागिता र विश्वभरका संस्थाको सहकार्यलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

अनेसासले नवौं सम्मेलनपछि दशौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाल, जापान वा अन्य कुनै देशमा आयोजना गर्ने तयारी गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर