
खै किन हो
मलाई मन पर्दैन
यो कंक्रिटको जंगल।
मलाई त हराभरा मैदान मनपर्छ,
खेतीयोग्य माटो मनपर्छ।
गहुँ–धान पाकेर,
मुस्काउने फाँट मनपर्छ,
मुसुरो र तोरीले
रङ्गिएको खेत मनपर्छ।
तर आजभोलि,
अन्नको भण्डारमा,
घरैघरको घेराबन्दी छ।
जहाँ हिजो सुन फल्थ्यो,
त्यहाँ अब घडेरीका प्लटिङ छन्,
सिमेन्टका रेखा कोरिएका छन्।
मानिसहरू यहाँ,
रहरले मात्र आएका होइनन्।
कोही भोकले झरे, कोही द्वन्द्वले ।
कोही स्वास्थ्य र शिक्षाको,
सुनौलो उज्यालो खोज्दै झरे,
कोही सडक र गाग्री रित्तो हुँदा,
मलबार आएका हुन् ।
आजभोलि त झन
उजाड खेतबारीमा बाँदर-बँदेलको राज छ,
वनमारा र माओवादी भडको डर छ,
यस्तै अभाव र उकुसमुकुसले पिल्सिएर
मानिसहरू तराई झरेका हुन्।
यो त राज्यकै विभेद हो,
राज्यका तराजुहरू
पहाडतिर सधैं हलुका रहे ,
जहाँ पहाडको पसिनाले
उचित मूल्य पाउँदैन।
जहाँ पहाडको जग्गा,
बैंकमा धितो बिक्दैन।
लालपुर्जा जब
खोटा सिक्का सरह हुन्छ।
अनि मानिसहरू आफ्नो,
थातथलो नछोडेर के गरून्?
त्यसैले त,
पहाड सुनसान हुँदै गएको छ।
यी बस्तीहरू मन नपर्नु,
मेरो कुनै बैरभाव वा पूर्वाग्रह होइन।
मन नपरेको त केवल
पहाड रित्तिँदै जाँदा
तराई भरिँदै गएको देख्नु हो।
भिड बढेर तराई गुलजार त भयो,
तर यी नयाँ बस्तीहरूमा
अब पसिना र उब्जनीको सुवास छैन।
अनि जब म,
मलबारतिर फैलिँदै गरेका
यी नयाँ घरहरू देख्छु।
मन भित्रैबाट,
एउटा आवाज आउँछ
ए तराई! ए मलबार!
तिमीलाई भर्न
पहाड खाली भएको छ।
तिमी हाँसिरहेछौ मलबार,
तर मेरो पहाड,
चुपचाप रोइरहेछ।