२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

डिजिटल हिंसाको सिकार बन्दै महिला

Nada
भावना पाठक
२०८३ जेठ ६ गते ०६:२५
Shares
डिजिटल हिंसाको सिकार बन्दै महिला

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू महिलाप्रति अत्यन्त निर्मम बन्दै गएका उदाहरण प्रशस्त देखिन थालेका छन् । महिलालाई लक्षित गालीगलौज र अपमानजनक टिप्पणीका कारण सामाजिक सञ्जालप्रति आमनागरिकको भरोसा समेत खस्कँदै गएको छ ।

ncell

सामाजिक सञ्जालको प्रयोग व्यापक भएसँगै महिलामाथि हुने डिजिटल हिंसा पनि बढ्दो क्रममा छ । महिला अधिकारकर्मी बबिता बस्नेतका अनुसार सामाजिक सञ्जाल नहुँदासमेत महिलाहरूले बोलेकै भरमा गाली, बहिष्कार र अपमान सहनुपथ्र्यो । अहिले भने सामाजिक सञ्जाल महिला तथा किशोरीलाई गाली गर्ने सजिलो माध्यम बनेको छ ।

‘आफ्नो विचार राखेकै भरमा, असहमति जनाएकै कारण महिलामाथि जसरी आक्रमण भइरहेको छ, त्यो गम्भीर अपराध हो,’ उनी भन्छिन्, ‘लोकतन्त्रमा सबैले आफ्नो विचार राख्न पाउने अधिकार हुन्छ । तर बोलेकै आधारमा महिलाको चरित्र र परिवारमाथि गरिने आक्रमण व्यक्तिको अधिकारमाथिको ठाडो हस्तक्षेप हो ।’ बस्नेतका अनुसार समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अझै पनि दोहोरो मापदण्ड कायम राखेको छ ।

केही वर्षअघि उनले अभिनेत्री करिस्मा मानन्धरसँग गरेको अन्तरवार्ता केही महिना अघि पुन: सामाजिक सञ्जालमा भाइरल भयो । उक्त भिडियोमा मानन्धरले आफ्नो व्यक्तिगत सम्बन्धबारे खुलेर बोलेकी थिइन् । उनले धेरै साथीहरूसँग घुलमिल भए पनि श्रीमान् विनोद मानन्धरबाहेक अरूसँग आफू खुल्न नसकेको बताएकी थिइन् । यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनलाई अत्यन्त तल्लो स्तरका टिप्पणीहरू गरिएका थिए ।

बस्नेतका अनुसार महिलाले आफ्ना व्यक्तिगत अनुभव र सम्बन्धबारे खुलेर बोल्नुलाई समाजले अझै सहज रूपमा स्वीकार गर्न सकेको छैन । उनले महिलाको चरित्रमाथि केन्द्रित यस्ता प्रतिक्रियाको विरोध गरिन् । ‘केही समयअघि महानायक राजेश हमालको आत्मकथा आयो, जसमा उहाँले महिलासँगको निकटताबारे खुलेर लेख्नुभएको छ,’ उनी भन्छिन्, ‘तर उहाँमाथि प्रश्न उठेन । त्यही कुरा करिस्माजीले भन्दा भने उहाँलाई गाली गरियो, ट्रोल बनाइयो ।’

गायिका समीक्षा अधिकारी, एलिना चौहान र ज्योति मगरमाथि सामाजिक सञ्जालमा आउने टिप्पणी पनि अत्यन्त अपमानजनक हुने गरेका छन् । नेपाली कलाकार महिलामाथि सामाजिक सञ्जाल निकै क्रूर देखिन्छ ।

यद्यपि, धेरै सेलिब्रेटीहरू सामाजिक सञ्जालका नकारात्मक प्रतिक्रियालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । उनीहरूको भनाइमा, प्रत्येक टिप्पणीलाई गम्भीर रूपमा लिने हो भने मानसिक रूपमा टिक्न नै कठिन हुन्छ ।

आजभोलि सेलिब्रेटी मात्र होइन, फरक विचार राख्ने सामान्य महिला वा किशोरीहरू पनि डिजिटल हिंसाको निशानामा पर्न थालेका छन् । जेनजी आन्दोलनमा सक्रिय भूमिका खेलेकी अभियन्ता सरिस्मा थापा यसको उदाहरण हुन् । आन्दोलनपछि पनि उनी विभिन्न सामाजिक विषयमा सडकबाट आवाज उठाउँदै आएकी छिन् ।

सरकारले वैशाख १२ गतेदेखि सुकुम्वासी बस्ती हटाउन थालेपछि उनले उचित व्यवस्थापनबिना डोजर लगाएर हटाउन नहुने भन्दै विरोध जनाएकी थिइन् । तर यही अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा निरन्तर आक्रमणको सिकार बनिन् ।

‘तैंले कस्तो छोरी जन्माइस् भनेर मेरो बुबाको मेसेन्जरसम्म गाली आउँछ,’ उनी भन्छिन्, ‘मलाई गाली गर्नु त ठिकै हो, परिवारलाई समेत छाडिँदैन । फरक मत राखेकै कारण यस्तो व्यवहार सामान्यजस्तै भइसकेको छ ।’

सामान्य प्रयोगकर्ताले गरेको गालीभन्दा पनि प्रहरीले नै ‘पैसामा बिक्ने माल’ भनेर गरेको टिप्पणीले आफूलाई बढी दुःखी बनाएको उनले बताएकी छिन् । ‘न्याय दिने निकायका व्यक्तिहरूकै भाषा यस्तो छ भने अरूबाट के अपेक्षा गर्ने ?’ उनले प्रश्न गरिन् ।

नेपालको कानुनले गाली–बेइज्जतीलाई अपराध माने पनि महिलामाथि हुने डिजिटल हिंसा भने घटेको छैन । आर्थिक वर्ष २०८१/८२मा मात्रै साइबर ब्युरोमा करिब नौ हजार उजुरी दर्ता भएका छन् । साइबर ब्युरोकी प्रहरी निरीक्षक दीपा भट्टराईका अनुसार तीमध्ये करिब ५० प्रतिशत उजुरी महिला हिंसासम्बन्धी छन् ।

जेनजी आन्दोलनबाट उदाएकी अर्की अभियन्ता अमीशा पराजुली पनि डिजिटल हिंसाको सिकार बनेकी छन् । राजनीतिक रूपमा फरक विचार राखेकै कारण उनी सामाजिक सञ्जालमा व्यापक आलोचना र अपमानको सिकार भइन् । उनीमाथि ‘बलात्कार गरेर झाडीमा फालिदिनुपर्छ’जस्ता अमानवीय टिप्पणीसमेत गरिएका थिए । ‘प्रहरीले समेत ‘छोरी मान्छे भएपछि थुतुनो जोगाउनुपर्छ’ भनेर गाली गर्नुभयो,’ उनी भन्छिन्, ‘सुरक्षा र न्याय खोज्न गएको ठाउँबाटै अपमान भएपछि परिवारले पनि साइबर ब्युरो जान नदिने अवस्था बन्यो ।’

तर प्रहरीले अमीशामाथि कुनै पनि गालीको शब्द प्रयोग नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै साइबर ब्युरोले उनीमाथि कुनै प्रकारको अपमानजनक शब्द प्रयोग नगरेको दाबी गरेको छ । 

सार्वजनिक यातायात र सडकमा हिँड्दा समेत ‘तिमी त्यही नानी होइनौ ?’, ‘केपी ओलीको नातिनी’ भन्दै जिस्क्याइने गरेको उनी बताउँछिन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्धको प्रदर्शनमा सहभागी हुँदा आफू डिजिटल हिंसाको सिकार बनेको भन्दै उनी गत चैत १८ गते साइबर ब्युरो पुगेकी थिइन् । तर उजुरी दिएपछि पनि आफूविरुद्ध हुने आक्रमण कम नभएको उनको भनाइ छ ।

प्रहरीको तथ्यांकले पनि महिलामाथि हुने डिजिटल हिंसा तीव्र रूपमा बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७५/७६मा महिलाविरुद्ध डिजिटल हिंसाका १९४ उजुरी दर्ता भएका थिए । अहिले २०८१/८२मा त्यो संख्या झन्डै आठ हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय अध्ययनहरूअनुसार विश्वका करिब ३८ प्रतिशत महिला कुनै न कुनै रूपमा डिजिटल हिंसाको सिकार हुने गरेका छन् । महिला अधिकारकर्मीहरूका अनुसार यो समस्या नेपालमा मात्र सीमित छैन, विश्वभरका महिलाले यस्तो हिंसा भोगिरहेका छन् ।

सामाजिक सञ्जालमा सन्तुलित र स्पष्ट विचार राख्ने अभियन्ता रक्षा बम पनि निरन्तर डिजिटल आक्रमणको सामना गरिरहेकी छन् । उनी जेनजी आन्दोलनबाट चर्चामा आएकी भए पनि सामाजिक अभियानमा पहिलेदेखि सक्रिय थिइन् ।

जेनजी आन्दोलनपछि भएको सत्ता परिवर्तनपश्चात् पनि उनी सडकबाट खबरदारी गर्दै आएकी छन् । तर पछिल्लो समय उनका आवाज ओझेलमा पर्न थालेका छन् । उनी उठाउने अधिकांश विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नकारात्मक प्रतिक्रिया दिने गर्छन् । उनीमाथि ‘अवसरवादी’, ‘भाग खोज्न आएकी’जस्ता टिप्पणी दैनिकजसो आउने गर्छन् ।

आजभोलि महिलाको चरित्रहत्या गर्नकै लागि फोटो तथा भिडियो दुरुपयोग गर्ने, स्वीकृतिबिना सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति पनि बढ्दो छ । वरिष्ठ अधिवक्ता लक्ष्मण थपलियाका अनुसार कसैको अनुमतिबिना फोटो वा भिडियो प्रयोग गर्नु कानुनी अपराध हो ।

उनका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुमतिबिना तस्बिर खिच्ने, सम्पादन गरेर सामाजिक सञ्जालमा राख्ने वा बिक्री गर्ने कार्यमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

‘दफा ४७ अनुसार सामाजिक सञ्जाल वा इन्टरनेटमा कसैको नैतिकतामा आँच आउने, घृणा वा द्वेष फैलाउने, वा महिलालाई जिस्क्याउने तथा हैरानी दिने सामग्री पोस्ट गरेमा ५ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ,’ उनी भन्छन् ।

तर कानुनी व्यवस्था हुँदाहुँदै पनि महिलामाथि हुने डिजिटल हिंसा रोकिएको छैन । थपलियाका अनुसार यस्ता संवेदनशील विषयमा कानुन बनाउनु मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक छ ।

हिजो महिलामाथि भौतिक हिंसा हुन्थ्यो, आज डिजिटल हिंसाले त्यसको नयाँ रूप लिएको छ । सामाजिक सञ्जालले जेनजी आन्दोलनजस्ता परिवर्तन सम्भव बनाएको भए पनि यही माध्यम महिलामाथिको हिंसा र अपराधको कारण बन्दै गएको टिप्पणी पनि बढ्दो छ ।

सम्बन्धित खबर