२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

उत्साहपूर्ण सिर्जना, कमजोर विमर्श

Nada
भावना पाठक
२०८३ वैशाख ३ गते ०६:२५
Shares
उत्साहपूर्ण सिर्जना, कमजोर विमर्श

काठमाडौं : २०८२ सालमा नेपालको राजनीति जसरी उथलपुथल भयो, साहित्य क्षेत्र भने तुलनात्मक रूपमा शान्त रह्यो । वर्षको मध्यतिर सुरु भएको जेनजी आन्दोलनले अन्त्यसम्मलाई असर गर्‍यो । यसो भन्दै गर्दा २०८२को सुरुआत खास थियो भन्ने होइन । सुरुआत पनि सन्तोषजनकमात्र रहेको साहित्यिक विश्लेषकहरू बताउँछन् । गएको वर्ष बजारमा आएकामध्ये औंलामा गन्न सकिने पुस्तक मात्र पाठक तथा समालोचकका नजरमा परे । 

ncell

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं समालोचक डा. नेत्र एटम विषम परिस्थितिका बीच साहित्य सिर्जनामा देखिएको उत्साह उत्कृष्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘लेखन र प्रकाशन त गज्जब थियो, तर चर्चा कम भयो । साहित्यिक कृतिबारे अनलाइन पत्रिकामा प्रकाशित हुने नियोजित समीक्षाले पुस्तक पढ्ने पाठकलाई भ्रममा राखेको छ । जसले राम्रा कृति छायामा परेको हो ।’

उनका अनुसार विधागत रूपमा २०८२ साललाई हेर्दा प्रमुख रूपमा आख्यान, निबन्ध, नाटक र कवितामा विशिष्ट छन् । उपन्यासको प्रकाशन धेरै संख्यामा भए पनि तीमध्ये अर्चना थापाको ‘अग्निगर्भा’ भान्साको राजनीति र लैंगिक सामथ्र्य स्थापनाका स्तरीय र चर्चित रह्यो । 

मोरिससको डायस्पोरिक अनुभूतिको गहनताका दृष्टिले निष्प्रभ सजीको ‘याली’ उपन्यासको स्थान छ । राजतन्त्रले स्थापना गर्न खोजेको फासीवादका अवधिमा पत्रकारले गरेको संघर्ष अभिलेखन गरेको नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन’ पनि उल्लेख्य छ । ऐतिहासिक महाख्यानका रूपमा केशव दाहालको ‘इथा’ र नीलम कार्कीको ‘राजमाता’ले महत्व पाएका छन् ।

त्यसै प्रकाशनमा आएकामध्ये दीपा दाहालको कथा ‘विजयिनी’ यथार्थको अंकन र महिला मुद्दाप्रतिको स्पष्टताका कारण उल्लेख्य छ । लक्ष्मण वियोगीको ‘सत्यम्’मा माओवादी विद्रोहलाई परम्परागत विद्रूप दृष्टिबाट हेरिएका कथा छन् । केदार संकेतको ‘अन्तिम साँझ’का कथामा डायस्पोरिक जीवनका संकटको सुन्दर चित्रण छ । 

गैराख्यान विधा निबन्धको प्रकाशनमा नवराज केसीको ‘स्वस्पर्श’ अग्रस्थानमा छ । भूपिनको ‘मध्यको उज्यालो’मा अनुभवको विस्तार र सुरुचिपूर्ण कलाका स्तरीय निबन्ध छन् । पर्यावरणीय चेतनाको प्रयोग पनि तिनमा पाइन्छ । यस वर्षको अन्त्यमा आए पनि दामोदर पुडासैनी ‘किशोर’को ‘कालो आँधी’ क्यान्सरका कारण मृत्युनिकट अनुभव गर्नुपरेको विद्रोही भयको संस्मरण हो ।

कविता विधामा ईश्वर कँडेलको ‘ईश्वरको कारागार’ बहिर्मुखी विषयको आन्तरिक कविताले आफ्नोपन सिर्जना गरेका छन् । रिमा केसीको ‘बागावतनामा’का कविता परिष्कार गर्न बाँकी भए पनि तिनको वैचारिक ऊर्जा सौन्दर्यको मानक स्थापना गर्न प्रयासरत देखिन्छन् ।

देशको विषम परिस्थितिका बीच पनि साहित्यका थुप्रै कार्यक्रम भएका छन् । पुस्तक प्रकाशनगृह बुकहिलले पोखरामा ‘बुकहिल बुकान्जा’ कार्यक्रम ग¥यो । त्यस्तै, फाइन प्रिन्टले यस वर्ष ‘फाइनप्रिन्ट फिभर– घुम्ती साहित्य उत्सव’ कार्यक्रममार्फत लेखक र पाठकलाई जोड्ने काम गर्‍यो । 

पब्लिकेशन नेपालयले आफ्नो प्रकाशन यात्रा २० वर्ष पुगेको अवसरमा ७५ जना नयाँ लेखकका कथा, कविता, निबन्धको नाम सार्वजनिक गरे पनि पुस्तक विमोचन गर्न भने सकेन । चर्चित भारतीय साहित्यकार अरुन्धती रोय आफ्नो पुस्तक ‘मदर म्यारी कम्स टू मी’को प्रवर्धनका लागि नेपाल आएकी थिइन् । जसले भारतीय र नेपाली साहित्यलाई जोड्ने काम ग¥यो । कुमार नगरकोटीले पहिलोपटक कविता कन्सर्ट पनि यसै वर्ष गरे । 

‘कृति प्रकाशन, साहित्यिक कार्यक्रम र सक्रियता हेर्दा सामाजिक मुद्दाहरूको सम्बोधनमा केन्द्रित तथा दार्शनिक चिन्तनमा अघि बढ्न खोजेको देखिन्छ,’ डा. एटम भन्छन्, ‘तर साहित्यिक मेलाहरूमा बासी विचार लिएर राजधानीबाट पिकनिक खान जाने प्रथाले साहित्यको विस्तार गर्दैन ।’  प्रायोजित र नियोजित ढंगले गरिने साहित्यिक कार्यक्रमले साहित्यको स्तर बढाउनुको साटो घटाउने उनको बुझाइ छ ।  

गएको वर्ष क्षितिज समर्पणको ‘तोरकीन’, चन्द्रप्रकाश बानियाको ‘ईश्वरको अवसान’, अर्चना थापाको ‘अग्निगर्भा’, नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन ’, केशव दाहालको ‘इथा’, नवराज लम्सालको ‘डाँफेको रङ’, श्रवण मुकारुङको ‘सलह’, सीमा आभासको ‘महायुग’ र वर्षको अन्त्यतिर नीलम कार्की निहारिकाको ‘राजमाता’जस्ता उपन्यास पाठक प्रतिक्रिया र समालोचकका नजरमा प्रभावकारी ठहरिए । डा. अमर गिरीको ‘रातमा कलम’ले कविताको थोरै शाख बचाउन खोजेजस्तो देखियो । ‘ईश्वरको कारागार’, ‘सत्र भोका काग’, ‘माझी हाडा’, ‘पानीको परेड’जस्ता कविता आए पनि तिनीहरूको चर्चा सुनिँदैन । 

आलोचनात्मक विमर्शको उपयुक्त वातावरण मार्टिन चौतारीबाहेक अन्यत्र खासै तयार भएको देखिएन, अधिकांश प्यानल डिस्कसनहरू नाम मात्रका रहे । राजनीतिक रूपमा विद्रोह र पुस्तान्तरण भएको देखिए पनि साहित्यमा यथास्थिति नै बलियो भइरहनु र कतिपय अवस्थामा पश्चगमनतिर बढ्न खोज्नु २०८२ सालको विडम्बना हो ।

uae

सम्बन्धित खबर