
परदेशी छोरा सम्झी नरोऊ आमा,
म स्वतन्त्र माटोको सन्तान हुँ,
म तिमीदेखि टाढा–टाढा भए पनि,
आखिर मेरो मन त सधैं तिम्रो आँगनमा बस्छ,
अनि सिर्जनात्मक फूलहरू सधैं ढकमक्क फुलिरहन्छन्,
हिमाल हाँसिरहन्छ,
पहाड नाचिरहन्छ,
तराईका फाँटहरू झुलिरहन्छन्,
के छैन हामीमा सबैथोक भएर पनि,
न त जल, जमिन, जंगल, जनावर अनि जडीबुटीको
सदुपयोग गर्न जानियो,
न त स्वाभिमानका घेराहरूलाई मजबुत बनाउन सकियो,
तै पनि सत्य, सत्य नै हो भन्ठानी जितको यात्रा तय हुने नै छ,
त्यसैले त नरोऊ आमा तिमी मलाई सम्झेर ।
तिमीले जन्माएको यो छोरा म,
कुनै देशको नागरिक होइन म,
तर म हुँ त्यो वीर गाथा र वीरता बोकेको,
स्वतन्त्र भूमिको साहसी सन्तान,
न त कहिल्यै झुक्न जान्यो, न त कहिल्यै रुन जान्यो,
न त विदेशीको गुलाम बन्न जान्यो,
तर विदेशीका गिद्धेनजरका विरुद्ध लड्दै जाँदा,
आफ्नाले आफ्नैलाई धोका दिएपछि,
झुटो आश्वासनका पोकाहरू बाँडी मर्ने कसम खाएपछि,
आखिर के नै गर्न सकिँदो रहेछ र आमा,
राष्ट्रियताको मामलामा एक्लो बृहस्पति भएपछि ।
राष्ट्रियताको मामलामा एक्लो बृहस्पति भएपछि ।
त्यसैले त नरोऊ आमा तिमी मलाई सम्झेर ।