२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कविता : सुकिलो कोट र द्रव्यले बनेको देवता

Nada
दीपक घिमिरे
२०८२ फागुन २ गते ०६:००
Shares
कविता : सुकिलो कोट र द्रव्यले बनेको देवता

एउटा सुकिलो कोट
कुनै सिलाई घरमा यसै उसै सिइएको होइन
यो त हजारौँ अभावको छालमा नपरी
चुपचाप चुपचाप सिइएको हो ।

ncell

यसको भित्री खल्तीमा 
जनताको पसिना सुकेको छ,
र बाहिरी बटनमा 
आश्वासनको झिल्को टाँसिएको छ 
त्यो कोट उभिन्छ मञ्चमा
टिलिक्क टल्किएर, 
दायाँबायाँ ढल्किएर
उसको आवाज भारी हुन्छ,
शब्द–शब्दमा देशभक्ति देखिन्छ ।

तर शब्द र सत्यबिच
द्रव्यको बाक्लो पर्दा झुन्डिएको हुन्छ 
त्यो पर्दा च्यात्न, 
न नारा पुग्छ, न ताली पुग्छ,
र त त्यो कोट टल्किरहन्छ,
दायाँबायाँ ढलिरहन्छ
ऊ हरेक पटक भन्छ,
म तिम्रै हुँ, तिमिसँगै छु,
तर उसको समय हरेक दिन
हिसाबकिताबसँग बित्छ ।

उसको निद्रा भोकको आवाजले होइन,
दररेटको उतारचढावले भङ्ग हुन्छ
हिजो ऊ जनतामा घुल्थ्यो,
आज जनता उसमा हराउँछन् 
उसको मुस्कान
मिडियाको फ्रेमभित्र सुरक्षित छ,
र हाम्रो आँसु सडकको धुलोसँग मिसिन्छ ।

द्रव्यले बनेको देवता मन्दिरमा होइन,
कक्षमा बस्छ 
त्यहाँ घण्टी बज्दैन, फाइल सारिन्छ
त्यहाँ फूल चढाइँदैन, आकांक्षा चढाइन्छ
र प्रसादमा हामीलाई फेरि आश्वासन बाँडिन्छ
उसको न्याय तराजुमा होइन,
तौलमा नापिन्छ
उसको नैतिकता ग्रन्थमा होइन, 
सम्झौतामा लेखिन्छ
र देश फेरि पनि उस्तै–उस्तै देखिन्छ
सुकिलो कोट अझै सफा छ,
किनकि
त्यसले कहिल्यै 
साँचो संघर्षको माटो छोएको छैन
हाम्रो रगतले भिजेको जमिनमा
उसले अवसरको जुत्ता रोप्छ,
तर इतिहास कोटले होइन
नाङ्गो सत्यले लेखिन्छ

एक दिन
द्रव्यको देवता आफ्नै मौनताले ढल्नेछ
सुकिलो कोट लाजले भारी हुनेछ
त्यसै त्यसै महामारी हुनेछ
त्यस दिन हामी बुझ्नेछौँ–
मान्छेमा देवता खोज्नु गल्ती रहेछ,
मान्छे बनेर मान्छेकै पक्षमा उभिनु
सबैभन्दा ठूलो राजनीति रहेछ ।

uae

सम्बन्धित खबर