२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

छेपारो समय : मौलिकतामा टिकेको गद्य काव्य

Nada
रत्नप्रसाद अनामणि श्रेष्ठ
२०८२ माघ १७ गते ०६:२०
Shares
छेपारो समय : मौलिकतामा टिकेको गद्य काव्य

हालसालै बजारमा ‘छेपारो समय’ शीर्षकमा भुँडीपुराण प्रकाशन, बागबजारले कवि पार्वती पुडासैनीको कविता–संग्रह छेपारो समय प्रकाशन गरेको छ । यस कविता–संग्रहभित्र ७५ वटा स–साना, चिटिक्क परेका, स्वादिला अचारजस्ता गद्य कविताहरू संग्रहित छन् । कविताका शीर्षकहरूले नै पाठकहरूमा कविता पढ्ने उत्सुकता जगाउँछन् । शीर्षकहरू छोटा र आकर्षक छन् ।

ncell

यस कविता–संग्रहमा नाटक, मूर्ति, मायाको फूल, पानी, म्याट्रेस, यात्रा, जीवन, गाउँ, बादल, बादल–१, कर्णाली, उज्यालो, ऐना, दृष्टि, जीवन, ह्याङओभर, डस्टबिन, छेपारो समय, दासता, भाषण, धरहरा, भोक, भ्रम शीर्षकका कविताहरु छन् । यसैगरी संग्रहमा रातो गुलाफ, परिवर्तन, परिवर्तन–१, आगो, बजेट, क्याक्टस, लामखुट्टे, सपना, उकुच, विद्रोह, विद्रोह–१, स्पर्श, होशियार, नियत, तरङ्ग, आँधीको युग, फूल, पर्खाल, मोबाइल फोन, नाति÷नातिनी, नारी, माया, खाटा नबसेको घाउ, एम्बुस, सपना, हिउँ, घाउ, विगत, इच्छा, वधशाला, हस्ताक्षर, चिया, तोरीका फूलहरू, परी, टुलबक्स, प्रयास, प्रयास, युद्ध, मन, छररा, रोबोट, चित्कार, जूनको आँखा, सर्प, शरणार्थी, प्रश्न, विभेद, भूकम्प, मान्छे, सौन्दर्य, काँडा, पराकम्प र स्वाभिमान शीर्षकका कविताहरू पनि समावेश छन् ।

विद्यार्थी जीवनको सुरुवातदेखि नै कविता लेखेकी पार्वतीले कवितालाई नै आफ्नो अन्तरङ्ग साथी बनाउँदै लगेकी छन् । दुःखको समय होस् वा सुखको क्षण, आफ्नो मनमा उब्जिएका मर्मस्पर्शी शब्दहरूलाई स–साना कवितामा अभिव्यक्त गर्दै कवि पार्वती पुडासैनीले आफ्नो मौलिक कविता–संग्रह छेपारो समय बजारमा ल्याएकी छन् ।

उनका कविताहरूमा मानव जीवन र मानव समाजका आवेग तथा संवेगहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उनका धेरैजसो कवितामा गाउँले जीवनको स्वच्छन्द भावधाराको प्रस्फुटन भएको छ । पुडासैनीले आफ्ना कवितामार्फत प्रकृति, अनुराग, श्रम, वियोग, राष्ट्रप्रेम लगायतका विविध भावहरू समेट्ने जमर्को गरेकी छन् । कृत्रिमताभन्दा मौलिकतामा बढी विश्वास र सहज तथा प्राकृतिक जीवनशैलीप्रति अनुराग पार्वतीका कवितामा देखिन्छ । उनले कवितामार्फत जीवन र जगतलाई हेर्ने स्पष्ट दृष्टिकोण बनाएको यस कविता–संग्रह पढ्दा बोध हुन्छ ।

यस कविता–संग्रहमार्फत काव्यमा पुडासैनीका केही प्रमुख प्रवृत्तिहरू देखिन्छन्–

क) सांस्कृतिक चेतना

यस संग्रहभित्र नेपालको सांस्कृतिक विषयलाई सरल र सहज ढंगले उठाइएको छ, जसले पाठकको मनमा प्रभाव पार्दछ । संग्रहमा मूर्ति शीर्षकको कविताले सांस्कृतिक विषयलाई बलियो गरी उठाएको पाइन्छ । कवि पुडासैनी लेख्छिन्–

बुझ्दैन कसैको पीडा र वेदना  
फिजाउँदैन सहयोगी हातहरू  

मस्त निद्रामा निदाइरहेछ  
सारा संसार बिर्सेर  
(पुडासैनी, छेपारो समय, पृ. २)

ख) स्थानीयपनको अभिव्यञ्जना

कवि पुडासैनी गाउँमा हुर्केकी हुनाले उनका कवितामा स्थानीयपनको अभिव्यञ्जना तीव्रताका साथ आएको छ, जुन मार्मिक छ– 

जब चल्छ सिरसिरे बतास  
आउँछ्यौ तिमी लहरिँदै मेरो अघिल्तिर  
तिमी पहेँलपुर फक्रीएको बेला  
म पो उभिएको छु सूर्यमुखी बनेर  
(पुडासैनी, छेपारो समय, पृ. ५६)

ग) प्रेमिल अभिव्यक्ति

मानव जीवनको नैसर्गिक स्वभाव हो– प्रेम । प्रेमविनाको जीवन निरस हुन्छ । पुडासैनीका कविताहरूले प्रेमिल हृदय र कसैको समर्पणमा डुबेको आभास व्यक्त गरेका छन् । कवि पुडासैनी लेख्छिन्–
लामो अन्तरालपछि  
भेट भयो तिमीसँग  

आयौ तिमी समीपमा  
बेरियौँ न्यानो अँगालोमा  
(पुडासैनी, छेपारो समय, पृ. ३)

प्रेमका मुनाहरू  
कहिल्यै नसिद्धियोस् झैँ लाग्छ  
चियाको चुस्की  
जसरी आइरहन्छन्  
हामीले सँगै साटेका पाइलाहरूका मीठा यादहरू  
(पुडासैनी, छेपारो समय, पृ. ५५)

घ) राष्ट्रप्रेम र राजनीति

पार्वती पुडासैनीको कवितामा नेपाली माटोप्रतिको अपार माया र श्रद्धाभावले पनि उचित स्थान पाएको छ । देशको जल्दाबल्दो राजनीतिले जनताको अपेक्षा पूरा नगरेकोमा पुडासैनीले काव्यिक प्रश्न गरेकी छन्–
बाधाहरू पन्छाएर  
उकाली चढ्दै  
खोज्न सक्नुपर्छ एकमुठी जाँगर  
र, पुग्न सक्नुपर्छ चुचुराहरूमा  
(पुडासैनी, छेपारो समय, पृ. १५)

छेपाराहरू  
अरूको अनुहार चाट्छन्  
कलेजो टोक्छन्  
र, आफूअनुकूल चल्न  
बाध्य पार्छन् समयलाई  
(पुडासैनी, छेपारो समय, पृ. १८)

ङ) सामाजिक यथार्थ

पार्वती पुडासैनीका कविताहरूले सामाजिक यथार्थलाई पनि अभिव्यक्त गरेका छन् । समाजमा घटित पीडा, छटपटी, असमानता र बितृष्णाका भावहरू यस कविता–संग्रहमा सशक्त रूपमा आएका छन्–
बजेटमा राखिन्छ बरु  
मन्दिर, मस्जिद र पूजाको नाममा पैसा  
राखिन्न औषधिमूलो र शिक्षाको उज्यालोका लागि  
(पुडासैनी, छेपारो समय, पृ. ११)

कोही भने भुइँमा बसेर  
भोको पेट छाम्दै  
थुक निल्दै हेरिरहेछ  
टुलुटुलु तिमीले खाइरहेको  
(पुडासैनी, छेपारो समय, पृ. २२)

वास्तवमा उनका कविताहरूमा विविध प्रवृत्तिहरू देखापरेका छन् । विषय–विविधताका कारण यस कविता–संग्रहले धेरै विषय समेटेको छ । नेपाली समाजको यथार्थ चित्रण, प्रेमिल अभिव्यक्ति, श्रमजीवी वर्गको पीडा, वर्गीय असमानता तथा राजनीतिक र आर्थिक अन्यायलाई यस संग्रहमा काव्यिक रूपमा सशक्त ढंगले उठाइएको छ । ‘छेपारो समय’ शीर्षक पनि सान्दर्भिक छ । यस संग्रहका सबै कविता पढ्नलायक र मन छुने छन् ।

यद्यपि, केही कविताका शीर्षक अंग्रेजीमा राखिँदा नेपालीपनमा कमी आएको अनुभूति हुन्छ । साथै, एउटै शीर्षकमा दुई कविता हुँदा पाठक अलमलिन सक्ने सम्भावना देखिन्छ । यस्ता झिनामसिना कुराबाहेक समग्रमा यो कविता–संग्रह उत्कृष्ट छ । छेपारो समय एक संग्रहणीय कविता–संग्रह बनेको छ ।

uae

सम्बन्धित खबर