२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कविता : हतार भएकाहरू !

Nada
दीपक घिमिरे
२०८२ माघ ३ गते ०६:००
Shares
कविता : हतार भएकाहरू !

मेरो प्रिय यार !
एक पटक आफूलाई हेर त,
यो हतारोमा तिम्रो ती पाइला–पाइलाले
कति फड्को एकै पटक मारे,
कति गह्रुँगा फड्काहरू एकै चोटि नाघे !
कस्तो हतार हो तिमीलाई ?
दौडने प्रतियोगितामा
स्वाँ–स्वाँ हुने गरी दगुरेर
प्रथम भएपछि पुरस्कार लिनु अघि नै
मरिहाल्छु कि भनेर
बिस्तारै सास फेर्ने बानी तिम्रो 
आज किन यति हतार ?

ncell

थाहा छ–
हतारमा छुटेकाहरू
फुर्सदमा फर्कन चाहेर पनि
फर्कन सक्दैनन् 
साथै राख्न मन भएकाहरूलाई 
हातबाट छुटिसकेपछि
समात्न सकिँदैन 
एक पटक विवाह भइसकेकी स्त्री
पुरानै प्रेमीसँग
फर्केर आउन सक्दिनन् 
एक पटक दुखाइदिएको मनलाई
जति मलहम–पट्टी लगाए पनि
ठिक पार्न सकिँदैन 
निद्रामा मस्त मान्छेलाई
ब्युँताइदिएपछि
ऊ फेरि निदाउन सक्दैन 
सातै जुनी सँगै काट्ने
वचन दिएकाहरू
एकै जुनीमा छोडेर गइसकेपछि
सात जुनीको साथ हुँदैन 

आँखामा राखेर सपना देखाउनेहरूको
आँखाबाट आँसु बनेर बगेपछि
फेरि त्यही आँखामा बस्न सकिँदैन 
तिमीलाई चिनेका आँखाहरूबाट
जुन दिन अञ्जान हुनेछौं,
त्यसपछि कहिल्यै
चिनजान हुँदैन 
मलामी भएर गएकाहरू 
म छुटेपछि
फेरि मलामी भएर
फर्कन सक्दैनन् 
यो हतारको यात्रालाई
यतै कतै
बिसाउन मिल्दैन ?
मिल्छ भने
एक पटक बिसाऊ ।

तर याद गर–
बिसाउँदा
पैतालाले धुलो नटेकुन्,
किनकि
पैतालाले टेकेका धुलाहरू
फेरि पैताला
बन्न सक्दैनन् ।

uae

सम्बन्धित खबर