
म उभिएको छु
यही धर्तीको छायामा
जहाँ क्षितिजसम्म फैलिएको छ
माटोको मौन इतिहास ।
कतै नदीले बोकेको सपना
कतै पहाडले थामेको पीडा
कतै घामले पोलिएको पसिना
कतै बादलले छोपेको आँसु ।
म देख्छु–
यो धर्ती कति विशाल छ,
तर मानिसको मुटु
किन यति साँघुरो हुँदै गएको ?
यहाँ रूखहरू अझै उभिएका छन्
मौन भएर,
पातहरूले अझै हावा चुमिरहेका छन्
तर मान्छेले
आफ्नै छाया चिन्न छोडेको छ ।
एक चिम्टी माटोका लागि
यहाँ नामहरू मेटिन्छन्,
इतिहास रगतले लेखिन्छ,
र सपनाहरू
अधुरो श्वासमै ढल्छन् ।
माटो त सबैको हो भनिन्छ,
तर हातमा पर्नासाथ
किन सीमा कोरिन्छ ?
किन बारुदले
बीउको ठाउँ लिन्छ ?
म सुन्छु–
रातको शान्तिमा
आहतहरू चिच्याइरहेका छन् ।
आमाको काख रित्तिँदै छ,
बाबुको निधारमा
रेखा थपिँदै छ,
र बच्चाको आँखामा
भोलिको डर उम्रिँदै छ ।
आकाश अझै खुला छ,
तर त्यसको नीलोपन
मानिसको आत्मासम्म
पुग्न सकेको छैन ।
हावा अझै बग्छ,
तर त्यसले
घाउमा मलहम लगाउन
भ्याएको छैन ।
पानी अझै झर्छ,
तर त्यसले
आगो निभाउन सक्दैन,
किनकि आगो
मनभित्र सल्किएको छ ।
आज पहाडहरू थाकेका छन्
बोझ थाम्दै–थाम्दै,
नदीहरू अलमलिएका छन्
रगत र फोहोर छुट्टाउँदै ।
जङ्गलहरू चुप छन्,
मानौँ उनीहरूलाई पनि
अब विश्वास छैन
मानिसका वाचामा ।
म सोच्दछु–
के माटोको दोष हो ?
कि माटोमाथि
हिँड्ने पाइलाको ?
एक चिम्टी माटो
जुन जीवनको आधार हो,
त्यही माटो
मृत्युको कारण बनिँदा
धर्ती पनि त
लज्जित हुँदो हो ।
यदि एक दिन
मानिसले बुझ्न सके
माटो जितेर होइन,
माटोसँग बाँचेर
जीवन सुन्दर हुन्छ भन्ने,
त्यो दिन
यो धर्तीले सास फेर्नेछ ।
नत्र भने,
यो विशाल संसारमा
एक चिम्टी माटो
सधैँ अपुग नै रहनेछ ।।