२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

दक्षिण अफ्रिकालाई जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने ट्रम्पको घोषणा

shivam cement
२०८२ मंसिर ११ गते १७:२१
Shares
दक्षिण अफ्रिकालाई जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने ट्रम्पको घोषणा

वेस्ट पाम (फ्लोरिडा) : राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नुभएको  छ । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण देशलाई दिइँदै आएका सबै भुक्तानी र अनुदान रोकिने उनले बताए । 

ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले गत सप्ताहान्त सम्पन्न शिखर सम्मेलनमा अमेरिकी सरकारी प्रतिनिधिमण्डललाई सहभागी हुन नदिएर अन्तर्राष्ट्रिय मान्यताको अवहेलना गरेको हो । उनले दक्षिण अफ्रिकामा ‘श्वेत अफ्रिकीहरूको हिंसात्मक दमन’ भइरहेको दावी पनि दोहोर्‍याए । उक्त दावीलाई दक्षिण अफ्रिकी सरकारले बारम्बार आधारहीन भनेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘दक्षिण अफ्रिकाले शिखर सम्मेलनपछि हाम्रो दूतावासका वरिष्ठ प्रतिनिधिसँग जी–२० को होस्टिङ जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गर्‍यो । त्यसैले सन् २०२६ को जी–२० का लागि उनीहरूलाई निमन्त्रण दिइनेछैन ।’

साथै उनले दक्षिण अफ्रिकालाई ‘सदस्यताका लागि अयोग्य’ देशका रूपमा चित्रित गर्दै सबै अमेरिकी सहायता तुरुन्तै रोक्ने निर्णय सुनाए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले भने अमेरिकाले हस्तान्तरण समारोहका लागि ‘उपयुक्त स्तरका अधिकारी नपठाएका’ कारण कार्यक्रम दक्षिण अफ्रिकी विदेश मन्त्रालय भवनमा सारिएको हो भन्दै ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र भ्रामक भनेको छ । 

दक्षिण अफ्रिकाले ट्रम्पले फैलाउँदै आएको ‘श्वेत किसानमाथिको आक्रमण’ सम्बन्धी दावीलाई पनि पुनः खण्डन गर्दै यसलाई गलत सूचना र विकृत तथ्यमा आधारित ठहर गरेको छ । यस वर्ष जोहानेसबर्गमा पहिलो पटक अफ्रिकामा आयोजित शिखर सम्मेलनलाई अमेरिकाले सम्पूर्ण रूपमा बहिष्कार गरेको थियो ।

वासिङ्टनले घोषणापत्रमा हस्ताक्षर नगरेको र जलवायु परिवर्तनजस्ता विषयमा दक्षिण अफ्रिकाको प्राथमिकताप्रति कडा असहमति जनाएको थियो । अब जी–२० को घुम्ती अध्यक्षता अमेरिकामा आइसकेपछि दक्षिण अफ्रिकासँगको विवादले भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन ।

ट्रम्प आफैँले घोषणा गरिसक्नुभएको आगामी वर्षको जी–२० बैठक फ्लोरिडाको डोरलस्थित आफ्नै गल्फ क्लबमा आयोजना हुनेछ, जसले यो विषयमा थप राजनीतिक संवेदनशीलता पैदा गरेको छ । विशेषगरी चीन, रुस र इरानसँगका कूटनीतिक सम्बन्धका कारण दक्षिण अफ्रिका हाल ट्रम्प प्रशासनका लागि लगातार निशाना बनेको छ ।

हालै प्रशासनले वार्षिक अमेरिकी शरणार्थी कोटा सात हजार ५०० मा सीमित गर्ने निर्णय गरेको छ, जसमा धेरैजसो स्थान श्वेत दक्षिण अफ्रिकीहरूका लागि आरक्षित गरिएको छ । यस वर्षमात्र अमेरिकाले ५९ अफ्रिकीलाई (अफ्रिकानर्स) शरणार्थीका रूपमा स्वीकार गरेको थियो ।

अफ्रिकीहरू मुख्यतया डच, फ्रान्सेली र जर्मन वंशका प्रवासीहरूको सन्तान हुन्, जो १७औँ शताब्दीदेखि दक्षिण अफ्रिकामा बसोबास गर्दै आएका छन् । सन् १९४८ देखि सन् १९९४ को रंगभेद शासनमा उनीहरूको प्रमुख भूमिका भए पनि समुदायभित्र विविधता रहेको र केही अफ्रिकीहरूसमेत रंगभेदविरुद्ध लडेको इतिहास रहेको उद्धृत गरिएको छ । दक्षिण अफ्रिकाको कुल छ करोड २० लाख जनसङ्ख्यामा करिब दुई करोड ७० लाख अफ्रिकानर्स रहेका छन् । –रासस/एपी

ADV

सम्बन्धित खबर