
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा आज तोकिएको सुनुवाइ स्थगित भएको छ ।
३ नम्बर इजलासमा न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलले सुनुवाइ गर्न तयारी गर्दै गर्दा लामिछानेका कानुन व्यवसायीले स्थगनको निवेदन दिएपछि प्रक्रिया रोकिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार निवेदन परेपछि आजको पेसी सारिएको हो ।
सुप्रिम सहकारी ठगीमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो तोकिएको छ । लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएर रिहा हुन माग गर्दै यसअघि जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए, तर अदालतले अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको निर्णयविरुद्ध दुवैले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन दिएका थिए । सर्वोच्च अदालतबाट फाइल झिकाउने आदेशपछि आजका लागि पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित गरिएको छ ।