
काठमाडौं : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले विघटित संसद् पुनर्स्थापनाले मुलुकमा नयाँ द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
बुधबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्तासँगको भेटमा उनले जेनजी आन्दोलनको भावना विपरीत संसद् व्युँताउने प्रयास भएमा मुलुक फेरि अस्थिरतातर्फ धकेलिने बताए ।
उनका अनुसार नेकपा (एमालें तथा केही कांग्रेस नेताहरू संसद् पुनर्स्थापनामा सक्रिय देखिए पनि त्यसको कारण स्पष्ट छैन । ‘जेनजी आन्दोलनले अपदस्त गरेका केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः संसद्मा ल्याउने उद्देश्य हो भने त्यो देशको निकास होइन,’ कोइरालाले भने ।
संविधान संशोधनमार्फत नागरिकका समस्या समाधान गर्ने स्पष्ट उद्देश्य भए एक महिनाभित्र समाधान खोज्न सकिने बताउँदै कोइरालाले मुलुकको गम्भीर अवस्थालाई अवलम्बन गरी सबै दलले राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता दोहोर्याए ।