
रुकुमपूर्व : रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको ४७औँ गाउँ कार्यपालिका बैठक वडा –६ डिमुरगैरा तातोपानीमा सम्पन्न भएको छ ।
‘दिगो पर्यटन विकास हाम्रो प्राथमिकता’ नारासहित बसेको बैठकले पर्यटन पूर्वाधार, बाल अधिकार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार केन्द्रित १३ बुँदे महत्वपूर्ण निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
आर्थिक वर्ष २०८१/८२ संघीय सरकार प्राप्त बजेट करिब ९० लाखमा निर्माण गरिएको भिझ्ने पोखरी, महिला, पुरुषको चेन्जिङ रुमलगायत संरचना गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले उद्घाटन गरेका छन् ।
‘तातोपानीलाई स्वास्थ्य–पर्यटनको अभूतपूर्व गन्तव्य बनाउने संकल्प’रहेको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाले तातोपानी क्षेत्रलाई दीर्घकालीन रुपमा प्रवर्धन गर्दै हरेक वर्ष माघ १ गतेदेखि तातोपानी स्वास्थ्य पर्यटन महोत्सव सञ्चालन हुन्थ्यो भने अब पर्यटकहरुलाई स्वास्थ्य पर्यटन क्षेत्रमा भित्र्याउन सकिने उनले बताए ।
यस्तै पर्यटन मार्ग विस्तार गर्न चार ठाउँमा पदमार्ग र सडक निर्माण गर्न गुरगाद–रुपौली पर्यटन पदमार्ग, दम–चौरीलेक पर्यटन पदमार्ग, सेरा–निसेल्ढोर पर्यटन सडक, गुल्जा झरना पदमार्ग तथा काठेपुल बनाउने निर्णय गरिएको छ ।
बैठकले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेका ७ व्यक्ति तथा संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।
वडाध्यक्षदेखि सञ्चारकर्मी, व्यवसायी र ट्रेकिङ गाइडसम्म समावेश व्यक्तिहरूलाई सम्मान गरेर गाउँपालिकाले स्थानीय पर्यटन अभियन्ताको मेहनतलाई औपचारिक कदर गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.कले बताए ।
गाउँपालिका भित्रका सबै पर्यटकीय स्थलको जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले टुरिष्ट डिजिटल एप निर्माण गर्ने निर्णय समेत गरिएको छ । एपमार्फत पदमार्ग, दृश्य, आवास, यातायात, सम्भावित जोखिम, सम्पर्क बिन्दु लगायत एकीकृत डिजिटल सूचना प्राप्त हुने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए ।