
ललितपुर : बागमती प्रदेशअन्तर्गतका जनस्वास्थ्य कार्यालयहरूको वार्षिक मूल्यांकनमा जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म हेटौँडामा सम्पन्न स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीमार्फत ललितपुर उत्कृष्ट घोषित गरिएको हो ।
प्रदेशभित्रका कार्यालयहरूको सेवा–सुविधा, कार्यसम्पादन तथा विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा १०० मध्ये ७१.५९ अंक प्राप्त गर्दै ललितपुर पहिलो स्थानमा रह्यो । धादिङ ७०.८६ अंकसहित दोस्रो र काभ्रेपलाञ्चोक ७०.६४ अंकसहित तेस्रो बनेको जनस्वास्थ्य कार्यालय ललितपुरकी तथ्यांक अधिकृत दीपा पाण्डेले जानकारी दिइन् ।
गतवर्ष पनि ललितपुर जनस्वास्थ्य कार्यालय प्रदेशकै उत्कृष्ट घोषित भएको थियो । दुवै कार्यकालमा कार्यालयको नेतृत्व डा.भुवन पौडेलले गरेका थिए ।
यसैगरी,अस्पतालतर्फ भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको छ । सेवाप्रवाहदेखि कार्यसम्पादन सम्बन्धी शीर्षकका आधारमा भक्तपुरले ७१.१० अंक प्राप्त गरी पहिलो भएको हो । त्रिशुली अस्पताल ७०.७२ अंकसहित दोस्रो तथा चौतारी अस्पताल तेस्रो स्थानमा परेको छ ।
उत्कृष्ट भएका कार्यालय र अस्पतालहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा तथा स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँ र स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य क्षेत्रको सुधारलाई प्रादेशिक सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे ।
उनीहरूले हालै प्रदेश सभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भइसकेको र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वास्थ्य क्षेत्रका चुनौती क्रमशः समाधान गरिने बताए । साथै, आमनागरिकलाई गुनासोरहित तथा गुणस्तरीय सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीले सेवाभाव र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।