
काठमाडौं : सरकारले दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजकको श्रीमती सुजन मगियालाई कम्प्युटर अपरेटर पदमा रोजगारी दिइएको हो ।
मंगलबार सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयकी सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । विसं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै तीनकुनेको आगजनीमा जलेर पित्रकार सुरेश रजकको निधन भएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारहरु सँधै असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारको रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद् निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुथ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भएपनि रोजगारीको पहल गरिएको छ । कानुनसम्मत रुपमा मुद्रण केन्द्रले रोजगारीको व्यवस्था गरेको छ, यसले थोरै भएपनि सुरेशको परिवारमा केही सान्त्वना मिल्ने अपेक्षा गरिएको छ ।”
दिवंगत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री खरलले परिवारका लागि नि:शुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए । उनले सुरेशलाई पत्रकार सहिद घोषणा गर्नका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने बताए ।

मन्त्री खरेलले समतामूलक न्यायसँग पनि जोडिएको संवेदनशील विषयमा पहलकदमीका लागि सिंगो मन्त्रालय र मुद्रण केन्द्रलाई धन्यवाद ज्ञापन गरे ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी दिर्नेशक ढुंगानाले पत्रकार सुरेश रजककी धर्मपप्नी सुजन मगियालाई केन्द्रमा कम्प्युटर अपरेटरको रुपमा रोजगारी दिइएको उल्लेख गरे ।
दिवंगत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।