
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा अब योजना सम्झौता गर्न पालिकाको कार्यालय धाउनु पर्दैन, सिधै वडा कार्यालयमै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था लागु गरिएको छ । यसले स्थानीय बासिन्दालाई समय र भाडा खर्च बचत गर्ने सुविधा दिएको छ ।
स्थानीय रेसम बन्जाडेका अनुसार, अब वडा कार्यालयमै योजना सम्झौता गर्न सकिने भएपछि सेवा सहज भएको अनुभव भएको छ। नगरपालिकाले योजना सम्झौतासँगै उपभोक्ता समितिलाई विस्तृत प्रशिक्षण पनि प्रदान गरेको छ। प्रशिक्षणमा योजना अधिकृत नुमलाल खनालले गुणस्तरीय काम, लागत अनुमान र स्थानिय–प्राविधिक समन्वयका बारेमा व्यावहारिक सुझाव दिएका थिए।
नगरपालिकाले आवश्यक फाराम, सूचनापुस्तिका र मार्गदर्शन सामग्री उपभोक्ता समितिलाई वितरण गरेको छ। यसबाट नागरिकले आत्मविश्वासका साथ गुणस्तरीय सेवा पाउने व्यवस्था भएको छ।
उपभोक्ता समिति अभिमुखीकरण तथा योजना सम्झौता कार्यक्रम वडा अध्यक्ष केशव बेल्वासेको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। वडा अध्यक्ष बेल्वासेले कार्यान्वयन गुणस्तरीय बनाउन दक्ष श्रमशक्ति, स्पष्ट प्रक्रिया र समयमै अनुगमन आवश्यक भएको बताए ।
यस वर्ष ठेक्का तथा नियमित कार्यक्रम बाहेक १४ वटा योजना वडा नम्बर १० मार्फत सञ्चालनमा ल्याइने जानकारी दिइएको छ। वडास्तरमै योजना सुरु गर्न सकिने भएकाले समयमै काम सम्पन्न र गुणस्तर सुनिश्चित गर्न सजिलो हुने बताइएको छ।
शितगंगा नगरपालिकाले सेवा नजिक पुर्याउने सिद्धान्तअनुसार वडा केन्द्रित योजना सम्झौता प्रणाली कार्यान्वयनमा ल्याएको यो कदम नागरिकमैत्री, प्रभावकारी र लागत–सन्तुलित सार्वजनिक सेवा अभ्यासको रूपमा लिइएको छ।