
काठमाडौं : विवाहित महिलाको सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२५'को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । नेपाल पुलिस क्लबमा शनिबार बेलुका आयोजित अन्तिम प्रतिस्पर्धामा २४ प्रतियोगीलाई पछि पार्दै उनले विजेताको ताज पहिरिन सफल भइन् ।
प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा विद्यमान विकृतिबारे राखेको निर्णायक प्रश्नको स्पष्ट, आत्मविश्वासी र प्रभावशाली जबाफका आधारमा उनी शीर्ष स्थानमा उक्लिएकी हुन् । ‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ उप–उपाधि समेत जितेकी रक्षाले मुख्य उपाधिसँगै स्कुटर उपहारका साथै अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।
अर्कोतर्फ यो वर्षको मिसेस नेपाल इन्टरनेसनल उपाधि सञ्जु भट्टले हात पारिन् । फेसन क्षेत्रमा उनलाई झनै स्थापित गर्ने थप उपलब्धि स्वरूप उनले ‘सेन्ट्रल फेसन स्कुल फेसन आइकन’ उप–उपाधि पनि जितिन् । यसैगरी दीपिका तामाङ ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भइन्, जसले निकट भविष्यमा सिंगापुरमा आयोजना हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् ।
मिसेस नेपाल वर्ल्ड अन्तर्गतका उपविजेताहरूमा विद्या चौहान फर्स्ट रनरअप भइन् । उनले ‘भ्युअर्स च्वाइस’ र ‘फेसबुक च्वाइस’ दुवै अवार्ड पनि आफ्नो पक्षमा पारिन् । एलिना केसी सेकेन्ड रनरअप भइन् र ‘क्युट केयर वेष्ट हेयर’ उप–उपाधिको सम्मान समेत पाइन् । थर्ड रनरअप निर्मला सुनुवार ‘सावित्री कञ्जनजंगा बेस्ट डान्सर’को पनि विजेता भइन् ।
प्रतियोगितामा विशेष सम्मान पनि प्रदान गरिएको थियो । नेपाली चलचित्र, साहित्य, कला र संस्कृतिमा करिब साढे तीन दशकदेखि सक्रिय योगदान पुर्याउँदै आएकी अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई यस वर्षको मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मान अघि मोडल एसराज गराच र ऋचा थापाले उनका लोकप्रिय गीतमा आकर्षक नृत्य प्रस्तुति दिएका थिए ।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित सो कार्यक्रम विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित सम्पन्न भयो । प्रतियोगितामा अरुणा लामा ‘नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस’, तारा खनाल ‘मेहता कस्मेटिक्स हेल्दी स्किन’, सुम्निमा खापुङ ‘मिसेलिन बेस्ट र्याम्प वाक’, विनिता अधिकारी ‘एआरएस डेन्टल बेस्ट स्माइल’, विष्णु भण्डारी ‘रिलायबल डायग्नोस्टिक ल्याब– मस्ट डिसिप्लिन्ड’, कुसुम खड्का ‘क्याभिन्स मस्ट फ्रेन्डली’, कञ्चन झा ‘भीनी मस्ट ट्यालेन्टेड’, कल्पना बिष्ट ‘फ्लाइटेक इन्टरनेसनल मिसेस इको–फ्रेन्डली’, र शुभाना रोक्का ‘मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन’ उप–उपाधिका विजेता बने । त्यस्तै, इमायुं राई ‘अयुथ वेदा बेस्ट पर्सनालिटी’, सुमिना महर्जन ‘स्वास्थ्यश्री बेस्ट फिजिक’, गंगा लामिछाने ‘राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चुअल ब्युटी’ तथा सजनी जोशी ‘रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस’ उपाधिबाट सम्मानित गरिए ।
प्रतियोगितामा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता तथा निर्माता गजित विष्ट, र जनरल फिजिसियन डा. कर्ट निर्णायकका रूपमा उपस्थित थिए । कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् भने कोरियोग्राफी अश्विनीकान्त झा, डान्स कोरियोग्राफी सन्दीप भुजेल र समन्वय सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले सम्हालेका थिए ।