
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
आज गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
“अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,” मन्त्री अर्यालले भने ।
उनले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्न निर्देशन दिँदै सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिए । गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिने मन्त्री अर्यालको भनाइ थियो ।
त्यस अवसरमा उनले जेनजी आन्दोलनमा घाइते भएकालाई राहत कार्ड फिल्डमै वितरण गर्ने र घाइते राहत कार्यविधि छिट्टै टुंग्याउन निर्देशन दिए । बैठकमा गृहसचिव दंगालले मन्त्रालय तथा मातहतका संरचनाको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए । मन्त्रालयको नेतृत्व ग्रहण गरेयता राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायतका लगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
सचिव दंगालले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिँदै गत भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा हिजोभन्दा आज आकाश–जमिनको फरक आएको उल्लेख गरे ।
बैठकमा मन्त्रालयका विभागीय प्रमुख, महाशाखा तथा शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको प्रगति तथा वस्तुस्थितिबारे जानकारी गराएका थिए ।