
गण्डकी : गत भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।
प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनीयता कायम राखिने कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।
जेन जेड प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउसमेत परिसकेको र उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताए । “आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ”, उनले भने, “किटानी जोहरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।”
प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेन जेड प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु. पाँच अर्ब बराबरको क्षति पुगेको जनाइएको छ । कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको जनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीन वटा हराएका छन् । एक सय ६१ वटा चार पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएका छन् । प्रदर्शनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए ।