
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजनो साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्धारित मितिमै निर्वाचन हुने बताएका हुन् ।
“फागुन २१ मा निर्वाचन गर्छौ, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, मन्त्री खरेलले भने,“भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनैपनि राजनीतिक दलले निर्वाचनमा भाल लिन्नौ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।”
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्धन भएको उल्लेख गरे ।
मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको उल्लेख गर्दै डिजिटल रुपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआइको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।
विदेशमा रहेका नेपालीको नेपाल बनोस, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गर्दै भने,“तपाँइहरूमा देश बनोस भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुटै छैन, व्यवहारिक रुपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिनेछैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।”
सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावना अनुरुप निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे छलफल गरिने विश्वास दिलाए । उनले निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने धारणा राख्दै शासकीय स्वरुप कस्तो बनाउने सर्बपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्ने बताए । “विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रवन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ”, उनले भने, “अध्यादेश ल्याएर भएपनि यो व्यवस्था गरिने विश्वास दिलाउदछु ।”
मन्त्री खरेलले नेपाल वायुसेवा निगमको दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासंघ दक्षिण कोरिया शाखाका कार्यबाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजिकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हक अधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीकी महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजिकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेनजीको भावना बमोजिम सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै जेनजीका माग पुरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्री समक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार,अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ ।
दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका हुन् । सञ्चारमन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि रहेका छन् । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो । कोरियाको भ्रमण सकेर सञ्चारमन्त्री खरेल शनिबार साँझ स्वदेश फर्कने तालिका छ ।