२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

‘सूचनाको हकले सुशासन बलियो बनाउँछ’

shivam cement
२०८२ कार्तिक २८ गते २०:२८
Shares
‘सूचनाको हकले सुशासन बलियो बनाउँछ’

ललितपुर : सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरी सुशासनको लक्ष्य पूरा हुन नसक्ने भन्दै सरोकारवालाहरूले सूचनाको हकलाई शासन प्रणाली सुदृढ गर्ने प्रमुख औजारको रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन तथा बागमती गाउँपालिका, वडा नं. २ को सहकार्यमा शुक्रबार ललितपुरमा आयोजित ‘सूचनाको हक प्रवद्र्धन तथा पत्रकार महासंघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सूचनाको हकलाई पारदर्शिता, जवाफदेहिता र नागरिक सशक्तीकरणको आधारस्तम्भका रूपमा प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकले व्यक्ति र समाजमा सही चेतना विकास गराउने बताए ।

उनले भने, ‘गलत व्याख्या, भ्रम र अपप्रचार चिर्न सूचनाको हक अत्यन्तै सशक्त माध्यम हो, पत्रकारले आफ्नो विचार थोपर्ने होइन, जनताको यथार्थ अवस्था उजागर गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ, सूचनाको हकले कसले कस्तो काम ग¥यो भन्ने तथ्य सार्वजनिक गराएर नागरिकमा जागरूकता र निगरानी क्षमता बढाइदिन्छ ।’ बागचन्दले २०४७ सालमै सूचनाको हकको संवैधानिक व्यवस्था भएपनि २०६४ सम्म प्रभावकारी कार्यान्वयन नहुनुमा राज्य संरचनाले दायित्व नबुझेको भन्दै नयाँ पुस्ताको सुशासन मुख्य अपेक्षाले अहिले यो अधिकार अत्यन्तै जीवन्त बनेको बताए ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले पछिल्ला वर्षहरूमा सूचनाको हक प्रवद्र्धनमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् । उनले भनिन,‘जेनजी आन्दोलनको मुख्य मर्म नै सुशासन र पारदर्शिता थियो, नागरिकले पाउनुपर्ने सूचना उपलब्ध गराउन सूचना अधिकारी र पत्रकार महासंघको सहकार्य महत्वपूर्ण रह्यो, हरेक सूचना प्रमाणित र पुष्ट गरेर मात्र प्रसारण गर्ने पत्रकारिताको अभ्यासले समाजमा सकारात्मक प्रभाव पारेको छ ।’

बागमती गाउँपालिका वडा नं. २ का अध्यक्ष रामबहादुर भोलुन तामाङले जनताको अपेक्षा अनुसार सेवा दिन सूचनाको हकले स्थानीय तहलाई जवाफदेही बनाउने बताए । उनका अनुसार देशमा अवसर प्रशस्त भएपनि अपारदर्शिता र कमजोर निगरानीका कारण विकासको गति प्रभावित हुने भएकाले सूचनाको हकलाई प्राथमिकतामा राख्नैपर्ने बताए ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले सूचनाको हकलाई लोकतान्त्रिक शासन व्यवस्थाको जीवन्त शक्तिका रूपमा व्यक्त गरे । उनले सूचनाको हकलाई प्रेस स्वतन्त्रता, नागरिक अधिकार र राज्य पारदर्शितालाई जोड्ने अटुट कडी भएको टिप्पणी गरे ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सूचना नै आधुनिक युगको वास्तविक शक्ति भएको बताए । ‘प्राचीन समयमा जससँग धेरै गाई–बस्तु हुन्थ्यो, उसलाई धनी मानिन्थ्यो । तर अहिलेको युगमा जससँग बढी सूचना छ, ऊ नै धनी हुन्छ,’  भन्दै उनले वर्तमान समयलाई सूचनाको युगका रूपमा परिभाषित गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर