
काठमाडौंः जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गरेका छन् । नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे ।
अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह समेत गरे । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए ।
उनले भने, ‘ हामी निर्वाचनमा गयौ भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ । सो त्यही कुरा भन्दै म सबै स्टेकहोल्डर्सलाई वार्तामा आउ, डिसाईड गरौ निर्णय गरौ । र, त्यसपछि मात्रै निर्वाचनमा जाने र देशलाई बैधानिकता दिने । यी कुराहरु गरौ ।’
अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताए ।