
अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)तोयनारायण सुवेदीले जिल्लामा इमानदारीपूर्वक सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालै सरुवा भएर आएका सुवेदीले बुधबार पत्रकारहरूसँग भेटघाट गर्दै प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउने र नागरिकमुखी कार्यशैली विकास गर्ने बताए ।
उनले प्रशासनका कर्मचारीलाई कानुनअनुसार जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइसकिएको बताए । उनले भने, ‘कानुनले तोकेको कार्यविधि पूरा गरेर आएको काममा आलटाल गर्न पाइँदैन, काम नगर्ने कर्मचारीमाथि कारबाही हुनेछ ।’
सुवेदीले मालपोत, नापी लगायत सेवाग्राही बढी हुने कार्यालयको सेवा सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण र शान्ति–सुरक्षा मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले जिल्लाका अनियमितता र समस्या समाधानका लागि सम्बन्धित निकायका प्रमुखहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।
उनले भने,‘जसरी म प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छु, त्यस्तै अन्य कार्यालय प्रमुख पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्छ। गलत काम सह्य हुँदैन ।’
सुवेदीले कालोबजारी, सानो तस्करी रोकथाम, र जनप्रतिनिधि तथा स्थानीय तहसँग मिलेर जिल्ला स्तरका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । आगामी निर्वाचनको तयारीबारे बोल्दै उनले निर्वाचन सफल बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको बताए ।
यसैबीच सन्धिखर्क नगरपालिकाले प्रमुख जिल्ला अधिकारी सुवेदीलाई स्वागत गरेको छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले सुवेदीलाई पुष्पगुच्छा र खादा अर्पण गरेर स्वागत गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा संकटका समयमा प्रशासन, प्रहरी र अन्य संस्थासँग समन्वय गर्दै आएको जानकारी दिए । उनले स्थानीय तहबाट सामान्य विवाद वडास्तरमै समाधान भइरहेको र संघ–प्रदेशसँग सहकार्यमा गतिविधि अघि बढाइएको बताए ।
नगर प्रमुख श्रेष्ठले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहबीचको समन्वय आवश्यक रहेको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य, वन र खानेपानीलगायतका क्षेत्रमा नगरपालिका सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।
प्रजिअ सुवेदीले अर्घाखाँचीमा काम गर्ने अवसर पाउँदा गौरव महसुस भएको बताउँदै सन्धिखर्कको सुशासन र सेवा प्रवाह नमुना रहेको सुनेको बताए । उनले स्थानीय तह जनताको नजिकको सरकार भएकाले त्यसलाई अझ सक्षम र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । सुवेदीले जिल्लाको शान्ति–सुरक्षा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा कुनै सम्झौता नहुने उल्लेख गरे । कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनाल, प्रवक्ता मोतिजंग रायमाझी, विभिन्न वडाध्यक्ष, वडा सदस्य तथा शाखा प्रमुखहरू उपस्थित थिए ।