
काठमाडौं : विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको दोस्रो किताब ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।
प्रज्ञा भवनको डबलीमा जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारी, युजन राजभण्डारी र भावना राउतसँगै लेखक शाहले सार्वजनिक पुस्तक सार्वजनिक गरेका हुन् ।
किताबबारे बोल्दै जेन–जी आन्दोलनका अगुवा माजिद अन्सारीले पुष्कर शाहका यात्राका उतारचढावले जीवन सरल छैन भन्ने सिकाएको उल्लेख गरे ।
उनले शाहको किताबमा यात्राका क्रममा भोक, अभाव, उत्साह र रोमान्स मात्रै नभएर सम्झौता गर्नुपर्दाका क्षणहरू कस्ता हुन्छन् भन्ने कुरा समावेश भएको बताए । उनले भने, ‘किताबले युवाको सपनालाई साकार बनाउन जताततैबाट प्रेरणा दिन्छ ।’
अर्का वक्ता युजन राजभण्डारीले शाहले किताबमा आफूले गरेको विश्व यात्राको सार प्रस्तुत गरेको बताए । उनले हिमालदेखि विभिन्न देशका संस्कृतिका कथाले धेरै कुराको ज्ञान दिने बताए । सरल र रोमान्चक भाषाको उनले खुलेर तारिफ गरे ।
त्यस्तै भावना राउतले शाहको पर्याप्त साधन स्रोत बिना पनि संसार घुम्छु भन्ने अदम्य साहस राख्ने कुरा युवा पुस्ताका लागि उदाहरणीय रहेको बताइन् । साथै उनले २०४६ सालको जिउँदो शहीदका रूपमा रहेका पुष्कर शाहले त्यति बेला गरेको क्रान्तिले देशले मुहार फेर्न नसकेपछि अहिले हाम्रो पुस्ताले फेरि क्रान्ति गर्नु परेको बताइन् । उनले भनिन्, ‘पुष्कर शाहको अदम्य आँट र साहस नै अहिलेका पुस्तालाई प्रेरणा लिन काफी छ ।’
लेखक शाहले संसार पैसाले नभइ इच्छाशक्तिले घुमिने हुँदा आमाले दिएको १ सय रुपैयाँको भरमा संसारका धेरै भू–भाग घुम्न पाउने भाग्यमानी कमै मान्छेभित्र पर्ने दाबी गरे । एक जीवनमा संसार घुम्न नसकिने बताउँदै उनले जेनजी पुस्तासँग किताब लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरे ।
११ वर्षअघि शाहकै पहिलो किताब ‘संसारलाई साढे पाँच फन्को’मार्फत बुकहिलको प्रकाशन यात्रा सुरुवात भएको प्रकाशक भूपेन्द्र खड्काले जानकारी दिए । उनले शाहको संसार घुमेको यात्राकथासँगै आफ्नो प्रकाशन गृहको पनि सपना यथार्थमा बदलिँदै आज डेढ सयभन्दा बढी किताब प्रकाशन गरिसकेको स्थापित संस्था बनाउन सफल भएको बताए । मृतसागरदेखि सग्रमाथासम्मको बजार मूल्य ७ सय रुपैयाँ रहेको छ ।