२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

बक्यौता रकम माग गर्दै उखु किसान धर्नामा

shivam cement
घनश्याम बलम्पाकी
२०८२ कार्तिक २३ गते १५:५९
Shares
बक्यौता रकम माग गर्दै उखु किसान धर्नामा

सर्लाही : सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको बाँकी रकम माग गर्दै किसानहरूले आजदेखि धर्ना सुरु गरेका छन् । आर्थिक वर्ष २०७०/७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । किसानहरूले उद्योग परिसरमै धर्ना दिएका छन् ।

धनकौल गाउँपालिका–४, महिनाथपुरका किसान जीतेन्द्र महतोले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो गरेका छन् । उनले गत वर्ष उखुको मूल्य तय नहुँदै सञ्चालन भएको उद्योगले प्रतिक्विन्टल २० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए ।

घरखर्च टार्न उद्योगमा उखुको भुक्तानीका लागि बारम्बार धाए पनि पैसा नपाएको महतोको गुनासो छ । २०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पैसा नदिएको उखु किसानहरूको गुनासो छ ।

उखु किसानका अगुवा रामआधार राय यादवले चिनी उद्योगीको बेइमानीविरुद्ध आन्दोलन सुरु गरिएको जानकारी दिए । आन्दोलित उखु किसानहरूले अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको ९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन् । तर किसानको बाँकी रकम पुरानो मालिक वा नयाँ मालिक कसले भुक्तानी गर्ने भन्ने विवाद रहेको छ ।

उद्योगका प्रशासकीय प्रमुख रमेशप्रसाद श्रीवास्तवले उद्योगले किसानलाई दिनुपर्ने पुरानो भुक्तानीको विषयमा सर्लाही जिल्ला अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामै रहेको बताए ।

उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए । गत वर्षको भुक्तानी बाँकी रहेको विषयमा सुरुमा मूल्य कायमै नहुँदै मिल सञ्चालन गरिएको र उखुबाट रिकभरीसमेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको उद्योगका प्रशासकीय अधिकृत श्रीवास्तवको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर