२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

नमुना नगरपालिका बनाउन जुट्दै जनप्रतिनिधि र कर्मचारी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक १७ गते २२:०५
Shares
नमुना नगरपालिका बनाउन जुट्दै जनप्रतिनिधि र कर्मचारी

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा नगरपालिकालाई नमुना बनाउने अभियानमा सक्रिय रूपमा लागि परेका छन् । उनी आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट र परिणाममुखी बनाउन निरन्तर प्रयासरत छन् । विकट क्षेत्रका जनताको समस्या र आवश्यकतालाई नजिकबाट बुझेर हरेक कार्यलाई परिणाममुखी बनाउन सापकोटा राज्यले निर्धारण गरेको समयभन्दा बढी समय नगरपालिकाको काममा बिताइरहेका छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत नुमलाल खनाल लगायतका कर्मचारीले दिनरात सापकोटालाई साथ दिइरहेका छन् । सापकोटाले नगरपालिकामा आएपछि अन्य कर्मचारीहरूलाई पनि सोही अनुसार जिम्मेवार र अनुशासित बनाउँदै कामकाजमा सुधार ल्याएका छन् ।

शितगंगा–१० का पूर्वजनप्रतिनिधि हिम्मत पोख्रेलका अनुसार सापकोटा आएपछि नगरपालिकामा सुशासन, पारदर्शिता र मिडियासँगको सहकार्य बढेको छ । कार्यालयका नियमित गतिविधिहरू पारदर्शी ढंगले अघि बढ्न थालेका छन् ।

प्रशासकीय अधिकृत खनालका अनुसार सापकोटा आएपछि कर्मचारीहरूलाई काम गर्न सजिलो भएको जनप्रतिनिधि र कर्मचारीहरूले बताउने गरेका छन् ।

सहयोगी स्वभावका सापकोटाले लामो समयदेखि तत्कालीन जिल्ला विकास समितिमा स्थानीय विकास अधिकृत, विभिन्न मन्त्रालय, विभाग तथा देशका विभिन्न महत्वपूर्ण नगरपालिका र अन्तर्राष्ट्रिय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्ने अनुभव बटुलेका छन् । उनी नगरपालिका तथा स्थानीय तहका नीति, नियम र कानुनबारेमा विज्ञ मानिन्छन् ।

यस कारण उनी शितगंगा नगरपालिकामा आएको थोरै समयमा नै धेरै काम अघि बढाउन सफल भएका छन् । योजना महाशाखाका प्रमुख समेत रहेका खनालका अनुसार सापकोटाको आगमनसँगै जनप्रतिनिधि र कर्मचारी दुवैलाई काम गर्न सहज वातावरण बनेको छ ।

शितगंगा नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि तथा पर्यटन प्रवद्र्धन, रोजगारी र पूर्वाधार विकास, उत्पादनमुखी आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत गरिबी, असमानता र बेरोजगारी अन्त्य गर्ने उद्देश्यका कार्यक्रम सञ्चालन भइरहेका छन् । सरसफाइ अभियान, हरियाली प्रवद्र्धन, धार्मिक क्षेत्रका मठमन्दिरहरूको स्तरउन्नति गर्दै धार्मिक पर्यटकलाई आकर्षित गर्ने अभियानमा सापकोटा लागिपरेका छन् ।

कर्मचारीसँग राम्रो व्यवहार गर्ने सापकोटाले नगरपालिकाका सबै ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर सेवा प्रवाहलाई सहज बनाएका छन् ।

उनले बजार अनुगमन, योजना अनुगमन, विकास निर्माण मात्र नभई जनमुखी, मुस्कानसहितको पारदर्शी र सुशासनयुक्त सेवा प्रदान गर्ने योजना बनाइरहेका छन् ।

नगरपालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका नीतिहरूको पालनामा सापकोटाले खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी बनाएका छन् । नगरप्रमुख छबिलाल पौडेलका अनुसार, सापकोटाले आर्थिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत रूपमा अघि बढाएका छन् ।

जनताको चाहना र गुनासा सुन्नका लागि नगरपालिकामा गुनासा पेटिका, सूचना अधिकारी र प्रत्यक्ष जनसम्पर्क प्रणालीको व्यवस्था गरिएको छ ।

सेवा जनतामाझ पु¥याउन नगरपालिकाले नीतिगत स्तरमै सुधारका कदम चालेको छ ।

स्थानीय दिलबहादुर गुरुङका अनुसार, सापकोटा र योजना अधिकृत खनालले आर्थिक भार घटाउने, पारदर्शिता बढाउने र जनमुखी सेवा प्रणाली विकास गर्ने कार्यमा सक्रिय छन् ।

उपसचिव सापकोटा कम समयमै शितगंगा नगरबासीको समस्या समाधान गर्न तल्लिन छन् । उनी सस्तो लोकप्रियताका लागि होइन, आफ्नो कार्यको परिणामबाटै पहिचान बनाउन विश्वास राख्छन् । नगरपालिकाका कर्मचारीहरूले पनि सापकोटाको नेतृत्वमा प्रशासनिक सुधार, सुशासन र विवादरहित काम हुने वातावरण बनेको बताएका छन् ।

ADV

सम्बन्धित खबर