२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुन हिल पुग्ने कि ! 

shivam cement
२०८२ कार्तिक १६ गते ०९:२४
सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुन हिल पुग्ने कि ! 

म्याग्दी : सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुन हिल पछिल्लो समय  पर्यटकीय आकर्षक स्थल बनेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडे पानी पुन हिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।

यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्यांक छ । प्रवेश शुल्क संकलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएको बताए। 

यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदल यात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुन हिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधा सम्पन्न होटेल छन् ।

त्यसै गरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडे पानी-पुन हिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उलेरी-घोडे पानी, नयाँपुल-घान्द्रुक-घोडे पानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडे पानी र तातोपानी-घार-शिख हुँदै घोडे पानी पुग्न सकिने गरी पदमार्ग सञ्चालनमा छन् । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडे पानी पुग्न सकिन्छ । संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडे पानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडे पानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ”, उनले भने, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।”

यसैबीच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु. ४६ लाख आम्दानी गरेको छ । पुन हिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क संकलन र चिया पसल सञ्चालनका लागि रु. ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो ।

ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटेल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताए । गत वर्ष रु. ४० लाख आम्दानी भएको थियो ।  समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुन हिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु. एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु. ५० का दरले प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर