
काठमाडौंः प्रहरीले अनुमति विना माइतीघरमा प्रदर्शन गरेको भन्दै पक्राउ गरेको छ ।
विभिन्न समूहको नाममा शनिवार माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माइतीघर दिनहुँ जसो प्रदर्शन हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंको अनुमति लिएर माइतीघरमा प्रदर्शन गर्न पाइने भएपनि पछिल्लो समय अनुमति नलिई प्रदर्शन गर्ने क्रम बढेको छ । प्रशासनको अनुमति बिना प्रदर्शन भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । माइतीघरमा दिनहुँ प्रदर्शन हुन थालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनकारीहरुलाई संयमित हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सुरक्षा निकायहरुसँगको बैठकपछि उनले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका हुन् । उनले सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्ना गतिविधि सञ्चालन गर्न सबैसँग अपिल गरेका छन् ।