२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

झुलाघाटमा मोटरेबल पुल निर्माण डिपिआरमै अलमल, झोलुंगे पुलसमेत जीर्ण

shivam cement
ललित बोहरा
२०८२ कार्तिक २ गते ०६:२०
झुलाघाटमा मोटरेबल पुल निर्माण डिपिआरमै अलमल, झोलुंगे पुलसमेत जीर्ण

बैतडी : नेपाल–भारत सीमामा करिब ६० वर्ष भारी बोक्ने काम गरेका बैतडी पुर्चाैडीका प्रमल बोहराको एउटा सपना छ, गाडी चढेर महाकाली तर्ने । उनी वर्षांैदेखि जीर्ण झोलुङे पुलमा भारी बोकिरहेका छन् । ‘पुल बनेपछि भारी बोक्न छोडुँला भन्ने छ । तर त्यो दिन कहिले आउँछ टुंगो छैन,’ उनले मध्यान्हसँग भने । 

हरेक चुनावमा बैतडी मात्र होइन, सुदूरपश्चिमको चुनावी एजेन्डा बन्छ झुलाघाट पुल । तर कहिले निर्माण हुने कुनै टुंगो छैन । 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल निर्माण डिपिआरमै अल्झिएको छ । सीमा नाका झुलाघाटमा रहेको करिब डेढ सय वर्ष पुरानो झोलुंगे पुलसमेत जीर्ण भइसकेको छ । 

मोटेरेबल पुल समयमै निर्माण नहुँदा सर्वसाधारण जीर्ण पुलमा भारी बोकेर यात्रा गर्न बाध्य छन् । सदमुकामबाट गढीबाट झुलाघाटसम्म करिब ३ सय मिटर मात्र कालोपत्रे गर्न बाँकी छ । पुलदेखि माथि करिब ४ सय मिटरको दूरीमा रहेको सडक पहुँचमा छैन । यो क्षेत्रमा अहिले पनि भारी बोक्नुपर्ने बाध्यता छ । पुल निर्माण भए झुलाघाट व्यापारिक नाका बन्ने भन्दै पुल निर्माणका लागि स्थानीयले दबाब दिइरहेका छन् । महिनौंसम्म अनसन बस्नेदेखि भारतमा माइतीघर हुनेहरू पुल नबनेसम्म नजाने घोषणासमेत गरिसकेका छन् । 

समयमै पुल निर्माण गर्न स्थानीयले माग गरिरहे पनि अलमल भइरहेको दशरथचन्द नगरपालिका बैतडीका पूर्वमेयर नरेन्द्र थापाले बताए । उनले भने, ‘नागरिक अगुवाहरूले पुल निर्माणको माग गर्दै आएका छौं तर हुँदैन । ३६ दिन अनसन बस्दासमेत सुनुवाइ भएन ।’  

महाकाली नदीमा डेढ सय वर्षअघि इस्ट इन्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ । सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाका भएकाले यहाँ मोटरेबल पुल नहुँदा व्यापार व्यवसायमा प्रभावित छ । झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघले १० हजार नागरिकको हस्ताक्षर संकलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो । तर सीमापारी उत्तराखण्ड प्रदेशका व्यापारीलाई घर भत्किने र व्यापार घट्नेभन्दै पुल निर्माणमा अवरुद्ध गरेको आरोप लगाइएको छ । उत्तराखण्ड प्रदेश पिथडागढ झुलाघाट भारतका व्यापारी  प्रेमप्रकाश भट्ट भने सो आरोप खण्डन गर्छन् । उनले व्यापारीले उल्टै पुल निर्माणका लागि भारत सरकारसँग माग गरिरहेको बताए । पुल निर्माणको डिपिआर बनाउँदै लामो समय लागेको छ ।  डिपिआर ठेक्का विवादले काम रोकिएको भट्ट बताउँछन् । ‘हामी पनि चाहन्छांै पुल छिटो बन्नुपर्छ । डिपिआरको ठेक्का विवादले रोकिएको हो,’ उनले भने । 

स्थानीयको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेबल पुल निर्माण गर्ने भन्दै प्रतिबद्धता भने जनाइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चुनावमा मात्र होइन, झुलाघाटमै पुगेर मध्यपहाडी संकल्प उद्घाटन गर्दासमेत पुल निर्माण गर्ने वचन दिए । तर लगत्तै प्रधानमन्त्री भए पनि काम अघि बढेन । बैतडीको पाटनमा चुनावी सभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पुल निर्माणको वाचा गरेका थिए । 

सुदूरपश्चिमकै पुरानो नाका झुलाघाटमा कर्णालीका नागरिकसमेत आवतजावत गर्दै आएका छन् । भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयातनिर्यात पनि महँगो गरेको छ । सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने पाटन बैतडीबाट व्यापारी शंकरदत्त भट्टले बताए । 

ADV

सम्बन्धित खबर

Advertise