२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

वेनडी हाउस स्कुल विशालनगरमा तिहार मेला सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १ गते २०:५१
वेनडी हाउस स्कुल विशालनगरमा तिहार मेला सम्पन्न

काठमाडौं : वेनडी हाउस स्कुल, विशालनगरमा तिहार मेला  भव्यरुपमा सम्पन्न भएको छ । वेनडी हाउस स्कुल, सेन्टर फर अटिज्म, वेनडी इन्क्लुसिभ स्कुल र सानफोर्ट वल्र्ड स्कुल परिवारको संयुक्त सहकार्यमा शनिबार ‘तिहार मेला २०२५’ एक भव्य सांस्कृतिक पर्वका रूपमा सम्पन्न भएको हो ।

तिहारको झिलिमिली रंग र बालबालिकाको हाँसोले शनिबार बिहानैदेखि विशालनगर उज्यालो बनेको थियो । यो केवल दीयो र बत्तीले मात्र होइन, सृजनशीलता र ममताको उज्यालोले पनि आकाश झिलिमिली थियो । यही उज्यालोबीच शिक्षा, कलात्मकता, सहकार्य र समावेशीताको सुन्दर सन्देश फैलाउककदै तिहार मेला सम्पन्न भयो ।

No description available.

 बिहान ११ बजेदेखि सुरु भएको मेलामा विशेष सजावटका साथ बालबालिकाले तयार पारेका दियो, माटाका भाँडा, हस्तकलाका सामग्री, मीठा परिकार, खेलकुदका स्टल र चित्रकला प्रदर्शनीहरूले वातावरण रमणीय बनाइरहेको थियो । 

विद्यालयकी प्रिन्सिपल ललिता प्रसाईं अभिभावकका लागि सान्त्वना, विद्यार्थीका लागि उत्साह, र शिक्षकका लागि प्रेरणा उजागर गर्दै विद्यार्थीसँगै हाँस्दै, बोल्दै र प्रोत्साहित गर्न व्यस्त देखिन्थिन् । उनले भनिन्,‘यी बालबालिकाले हामीलाई जीवन बुझ्न, सिर्जना गर्न, र माया बाँड्न सिकाउँछन् ।’

No description available.

वास्तवमै प्रिन्सिपल प्रसाईंको नेतृत्वले विद्यालयको वातावरणलाई शिक्षा र संवेदनाको संगममा रूपान्तरण गरेको छ । उनी ‘सेन्टर फर अटिज्म’ र वेनडी हाउस स्कुल दुवैको संयोजक आत्मा हुन्, जसले अटिजम भएका बालबालिकालाई आत्मविश्वासपूर्वक समाजको केन्द्रमा ल्याउने कार्य गरिरहेकी छन् ।

मेला केवल रमाइलो मात्र कार्यक्रम थिएन, यो ‘सीप र आत्मनिर्भरताको पाठशाला थियो । विद्यालयले ‘सिकौं र आर्जन गरौं’ भन्ने नारालाई आत्मसात गर्दै, बालबालिकालाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीबाट  नयाँ उत्पादनशील वस्तुहरू निर्माण गर्न सिकाएको थियो । यसले तिनमा सिर्जनात्मक सोच र आर्जनको चेतना दुवै विकास गर्‍यो ।

प्रधानाध्यापिका प्रसाईं बीचबीचमा अभिभावकहरूसँग संवाद गर्दै थिइन् । उनीहरूको सन्तानका सृजनामा गर्व अनुभव गर्दै, हरेक विद्यार्थीको प्रयासको कदर गर्दै । अभिभावकहरू पनि विद्यालयप्रतिको आभार व्यक्त गर्दै थिए । ‘यो विद्यालयले हाम्रा छोराछोरीलाई केवल पढाएको होइन, जीवन बुझ्न सिकाएको छ,’ एक अभिभावकले भावुक हुँदै भने ।

त्यो वातावरणमा प्रसाईंको नेतृत्वशैली आफैंमा प्रेरणादायी देखिन्थ्यो । न त कुनै औपचारिकता, न दूरी; उनी साना बालिकाहरूका दियो बाल्ने साथी थिइन्, अभिभावकका सल्लाहकार थिइन्, र शिक्षकहरूको मार्गदर्शक पनि ।

No description available.

मेला साँझतिर दीप र बत्तीले झनै उज्यालो बन्यो । संगीत गुन्जियो र बालबालिकाहरू खुशीको उज्यालोमा नाचिरहेका थिए । प्रसाईंले अन्त्यमा भनिन्,‘हाम्रो उद्देश्य केवल मेला मनाउने होइन, हरेक बालकको मनमा उज्यालो बाल्ने हो,  जसले समाज नै रोशन बनाउँछ ।’ 

शनिबार तिहार मेला एउटा विद्यालयको आयोजनाभन्दा बढी बन्यो । त्यो सामुदायिक प्रेम, समावेशी चेतना र सृजनशीलताको उज्यालो पर्व बन्यो । वेनडी हाउस स्कुलको यो यात्रा एउटा सन्देश बन्यो, जुन साँचो तिहार त्यो हो, जहाँ प्रत्येक बालकको प्रतिभा, प्रत्येक शिक्षकको समर्पण र प्रत्येक अभिभावकको आशा एउटै उज्यालोमा मिसिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise