रुकुम पश्चिम : मानव विकास तथा सामुदायिक सेवाअन्तर्गत सञ्चालित चौरजहारी अस्पताल र मेहर परियोजनाको आयोजनामा रुकुम पश्चिममा गाडी दुर्घटनासम्बन्धी आपतकालीन उद्धार तथा विपद् प्रतिकार अभ्यास सम्पन्न गरिएको छ ।
अभ्यासअन्तर्गत गाडी दुर्घटना भएको परिकल्पना गरी घटनास्थलबाट घाइतेहरूलाई उद्धार गरी चौरजहारी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
परियोजना संयोजक कुमेर परियारका अनुसार उक्त ड्रिलको उद्देश्य सडक दुर्घटनाका घटनामा तत्काल उद्धार र उपचार प्रक्रियालाई सशक्त बनाउनु हो ।
अभ्यासमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा दुर्घटनास्थलमा घाइतेहरूको पहिचान, प्राथमिक उपचार, रक्तस्राव नियन्त्रण, स्ट्रेचरमार्फत अस्पताल पुर्याउने, र अस्पतालभित्र उपचार प्रक्रिया प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा प्राविधिक संयोजक तारा हाङ तावाका अनुसार यस अभ्यासले सडक दुर्घटनाका बेला हुने आकस्मिक अवस्थाको सामना गर्न आवश्यक समन्वय, उद्धार सीप र प्रतिकार क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ ।
कार्यक्रमले भविष्यमा हुने वास्तविक दुर्घटना वा विपद्का घटनामा तुरुन्त, प्रभावकारी र समन्वित प्रतिक्रिया दिन सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै, शनिवार चौरजहारीमा आगलागीसम्वन्धी कृतिम घटना अभ्यास गरिएको छ । मानव विकास तथा सामुदायिक सेवाअन्तर्गत मेहर परियोजनाको आयोजनामा आगलागीमा परि घाईते विरामीहरूको उपचारसम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको हो । कार्यक्रममा चौरजहारी अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निमरोद लिम्बूको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टिम विरामीहरूको उपचारमा खटेका थिए ।