काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।
मंगलवार पार्टी केन्द्रीय समितीको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए ।
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको दाबी गरे । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएको उनको भनाइ छ । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।
सभापति देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको बताए । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ ।