२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

परिवर्तन गाउँपालिकामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ असोज २७ गते १४:३३
परिवर्तन गाउँपालिकामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन नयाँ पहल थालेको छ । गाउँपालिकाले पहिलो पटक वडा कार्यालयबाटै भत्ता वितरण सुरु गरेको हो । सोमबार परिवर्तन गाउँपालिका–२, राङ्सीको वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुख बहादुर बुढा मगरले ज्येष्ठ नागरिक जयपुरी घर्तीलाई भत्ता हस्तान्तरण गरी यो अभियानको औपचारिक सुरुवात गरे ।

परिवर्तन गाउँपालिकाले गाउँमै सेवा पुर्‍याउने उद्देश्यले वडा कार्यालयबाट भत्ता वितरणको व्यवस्था गरेको हो । यसअघि ज्येष्ठ नागरिकहरूले गाउँपालिकाको केन्द्र वा बैंकमा पुगेर भत्ता बुझ्नुपर्दा लामो दूरी हिँड्नुपर्ने र सवारी खर्चमा १५ सयदेखि ४५ सय रुपैयाँसम्म खर्च हुने समस्या थियो । यो नयाँ व्यवस्थाले समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ ।
ज्येष्ठ नागरिक जयपुरी घर्तीले वडा कार्यालयमै भत्ता पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “घर नजिकै भत्ता पाउँदा धेरै सजिलो भयो । पहिला गाउँपालिका पुग्न धेरै कष्ट हुन्थ्यो ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले यो पहलको मुख्य उद्देश्य टाढा-टाढा बस्ने ज्येष्ठ नागरिकलाई सहज सेवा प्रदान गर्नु रहेको बताए । उनले भने, “हामीले गाउँमै सेवा पुर्‍याउने नीति लिएका छौं । सवारी साधनको अभाव र लामो दूरीको यात्राले ज्येष्ठ नागरिकले सास्ती भोग्नुपरेको थियो । अब वडा कार्यालयबाटै भत्ता वितरणले यो समस्या समाधान भएको छ ।”

गाउँपालिका अध्यक्ष सुख बहादुर बुढा मगरले भने, “हाम्रो उद्देश्य छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्नु हो । वडा कार्यालयबाट सेवा विस्तारले जनतासँग प्रत्यक्ष जोडिन सकिएको छ ।” उनले दोस्रो कार्यकालमा जनताको मागलाई प्राथमिकता दिँदै प्रभावकारी सेवा प्रवाहमा जोड दिएको बताए ।

राङ्सी वडा कार्यालयमा आयोजित भत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सुख बहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्री, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, प्रशासन शाखा प्रमुख ललित कुमार बुढा, लेखापाल हरिष डाँगी, पञ्जिकरण शाखा प्रमुख अन्जु वली, योजना शाखा प्रमुख शिवराम खड्का, रोजगार सेवा केन्द्र शाखा प्रमुख अनिता भुसाल, विपद् व्यवस्थापन शाखा प्रमुख विकास विक्रम आले, सूचना अधिकृत ज्ञानेन्द्र कँवर, ग्लोबल आइएमई बैंक दुईखोली शाखा प्रमुख तचमन चन्द, अस्थायी प्रहरी पोष्ट पुतलाचौरका असई चित्रदेव पुरी र नगर प्रहरी जवान महेश घर्तीको उपस्थिति थियो ।

परिवर्तन गाउँपालिका–२, राङ्सी वडा कार्यालयबाट करिब २५० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक भत्ता वितरण कार्यक्रम असोज २७ देखि कार्तिक १ गतेसम्म वडा नम्बर १ देखि ६ सम्मका वडा कार्यालयहरूबाट सञ्चालन गर्ने योजना बनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise