२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते ११:४२
मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडौं : नेपालीहरूको दोस्रो ठुलो पर्व अर्थात् फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादक किसानले भने उचित मूल्य पाउन सकेका छैनन् ।

गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुने गरेको उनले बताए । 

किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् ।

उनले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गरिन् । सरकारले दशैंमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनको भनाइ थियो । उनले यहाँका किसानले मागअनुसार फूल उत्पादन गरेको पनि दाबी गरिन् । उनले मखमली फूलको बीउमा समेत समस्या रहेको बताइन् । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतका समस्या हुने उनको भनाइ छ । 

किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनका लागि व्यापारीहरू घरमा नै आउने उनको भनाइ छ । उनले यस वर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् ।  उनले गत साल दुई हजार माला बेचेकी थिइन् ।

राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिए । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरूलाई मात्रै फाइदा भएको उनीहरूको गुनासो छ । 

फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरू महँगोमा पर्ने समस्या खडा भएको बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise