२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

फूलपातीमा तीन चलचित्र प्रदर्शन हुँदै

shivam cement
मध्यान्ह
२०८२ असोज ८ गते १३:०७
फूलपातीमा तीन चलचित्र प्रदर्शन हुँदै

काठमाडौंः दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ । 

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् । 

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उनले भने, ‘हरिबहादुरका रुपमा शृङ्खला र मञ्चमा प्रस्तुत भएको छु । यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेको छु । यसपटक हरिबहादुरले हँसाउनेसँगै रुवाउँछ पनि । सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको छ । यसमा पारिवारिकसँगै देशको अवस्थालाई पनि चित्रण गरेका छौँ । ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ ।’

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए ।

‘कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ । तर, दर्शकले चलचित्र राम्रो छ भने प्रचार गर्ने गरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौँ वा चाडपर्वमा धेरै हुन्छ’, उनले भने । 

उनले नेपालमा रहेको ‘मल्टीप्लेक्स’ बाहेकका चलचित्र भवनले शो सङ्ख्या सुरुवाती समयमा धान्न कठिनाई देखिए पनि विस्तारै दर्शकको रोजाइअनुसार शो बाँडफाँट हुने बताए । गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन् ।  

ADV

सम्बन्धित खबर

Advertise