काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटअगाडि वेस्ट इन्डिजसँगको शृंखला महहत्वपूर्ण रहेको बताएका छन् ।
पहिलोपल्ट नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्दै छ । उक्त श्रृंखला नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर २७ देखि खेल्ने तालिका छ । यसै श्रृंखलाका लागि बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले वेस्ट इण्डिजसँगको श्रृंखला नेपाली टोलीका लागि ऐतिहासिक रहेको बताएका हुन् ।
नेपालले ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया प्यासिफिक रिजनल फाइनलको तयारीका लागि यो श्रृंखला खेल्न लागेको हो । त्यसैले छनोटअगाडि वेस्ट इन्डिजसँगको शृंखला महत्वपूर्ण हुने कप्तान रोहितको विश्वास छ ।
उनले यो श्रृंखला नेपालका लागि ऐतिहासिक रहेको उल्लेख गरे । आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायरअगाडि यो शृंखला खेल्न लागेकाले आफूहरूका लागि यो निकै महत्वपूर्ण रहेको उनी बताउँछन् । साथै रोहितले वेस्ट इण्डिजसँगको खेलका लागि आफ्नो टोली तयार रहेको पनि बताए । गत एक महिनादेखि अस्ट्रेलियामा पनि राम्रो तयारी गरेको र खेलहरू पनि खेलेकाले नेपाली टोलीको तयारी समग्रमा प्रभावकारी बनेको उनी बताउँछन् । उनले सबै खेलाडी राम्रो लयमा देखिएको उल्लेख गरेका छन् । तर, मैदानमा जसले उत्कृष्ट प्रदर्शन गर्छ त्यो नै प्लेइङ ११ मा पर्ने उनको भनाइ छ । वेस्ट इण्डिजसँगको खेलका लागि टोली उत्साहित रहेको र आगामी खेलमा ध्यान केन्द्रित गरेको कप्तान रोहित बताउँछन् ।
यसअघि वेस्ट इन्डिज ‘ए’ सँग खेल्दा ३–२ भएको र त्यो नतिजाले आफूहरूलाई प्रेरणामा मिल्ने उनको विश्वास छ । पछिल्लो दुई वर्ष टेस्ट राष्ट्रसँग खेलेकालाई सबै खेलाडीमा आत्मविश्वास बढेको उनी बताउँछन् । वेस्ट इन्डिजसँगको खेलबाट राम्रो तयारी पाउने र नेपाल विश्वकपमा छनोट हुने उनको विश्वास छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ ९क्यान० को उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि वेस्ट इन्डिजसँगको सिरिज ऐतिहासिक र नेपाली क्रिकेटका लागि अवसरका रूपमा लिएको बताएका छन् ।
महत्वपूर्ण प्रतियोगिता टी ट्वान्टी विश्वकप क्वालिफायर आउँदै गरेकाले यस शृंखला नेपाली क्रिकेटका लागि राम्रो अवसर रहेको प्रशिक्षक ज्ञानेन्द्र बताउँछन् । यस शृंखलाका लागि नेपाली टोलीले तयारी पनि राम्रो गरेको उल्लेख गरे । यस श्रृंखलाबाट नेपालले भरपूर सदुपयोग गर्नेमा उनी विश्वस्त छन् । साथै उनले टेस्ट राष्ट्रलाई हराउने अवसरका रूपमा पनि यसलाई लिएका छन् । टेस्ट राष्ट्र बन्नका लागि यस्ता टोलीहरूसँग खेल्न आवश्यक रहेको ज्ञानेन्द्रले बताए । यस्तै टोलीहरूसँग खेले मात्र टेस्ट राष्ट्र बन्ने नेपालको यात्रामा मद्दत पुग्ने उनको आशा छ । तर, सबैले आफ्नो क्षेत्रमा राम्रो जिम्मेवारी वहन गरेको प्रशिक्षक ज्ञानेन्द्रले बताए । युएईमा राम्रो तयारी गर्दै विश्वकपमा छनोट हुने लक्ष्य रहेको उनले बताए ।
विश्वकपमा छनोट हुँदै समग्र नेपाललाई खुसी दिने लक्ष्य रहेको र त्यसका लागि तयारी पनि प्रभावकारी भएको उनको विश्वास छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले टेस्ट टोलीसँगै बिरलै क्रिकेट खेल्न पाउने अवसर मिल्ने र यो अवसर सही रूपमा प्रयोग हुनेमा आफू आशावादी रहेको बताए । यसको व्यवस्थापन गरेकोमा उनले क्यानलाई पनि धन्यवाद दिएका छन् । यस शृंखलाका लागि अवसरका रूपमा लिएर त्यहीअनुरूप प्रदर्शन गर्न पनि खेलाडी तयार हुने उनको विश्वास छ । टी ट्वान्टी–२० विश्वकप छनोटमा पनि नेपाली टोलीबाट राम्रो प्रदर्शन हुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् । क्वालिफायरमा सफलता दिलाउँदै देशलाई ठूलो सन्देश दिन उनले आग्रह गरेका छन् ।
देशमा अवस्था परिवर्तन लागि युवापुस्ताको आन्दोलनमा त्यति धेरै बालिदानी हुन्छ भनेर कसैले नसोचेको उनले उल्लेख गरे । त्यो आन्दोलनमा सहिद हुनेहरू प्रति समग्र खेलकुद क्षेत्रबाट उनले श्रद्धाञ्जली अर्पण गरेका छन् । यस क्रममा उदाउँदा क्रिकेट खेलाडी पनि गुमाउनु परेको र केही अभैm घाइते अवस्थामा उपचार गरिरहेको उनले उल्लेख गरेका छन् । यो आन्दोलनसँगै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अनिश्चत बनेको उनको भनाइ छ । तर, यस्तो अवस्थामा नेपाल प्रिमियर लिग (एनपिएल) समयमा आयोजना हुने प्रतिवद्धतालाई उनले स्वागत गरेका छन् । राखेप पनि यो आयोजना सम्पन्न गर्न हरेक किसिमको सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्यानका उपाध्यक्ष रोशन सिंहले देशमा खुशी दिने नेपाली क्रिकेट नै रहेको र खेलपश्चात खेलाडीहरूको जीवन धान्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान पुर्याउनुपर्ने धारणा राखे । इतिहास बनाउने खेलाडीका लागि राम्रो सेवा सुविधा प्रदान गर्न उनले आग्रह गरेका हुन् । उनले देशको अवस्था परिवर्तनमा युवाहरूको बालिदानीप्रति प्रशंसा गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।