काठमाडौंः जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबीचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा सङ्कुचित हिमनदी, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको जनाएको छ ।
‘विश्वका जलस्रोतहरू बढ्दो दबाबमा छन्, त्यसमाथि पानीसँग सम्बन्धित चरम खतराहरूले जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्’, डब्लुएमओ प्रमुख सेलेस्टे साउलोले विज्ञप्तिमा भने ।
प्रतिवेदनअनुसार गत वर्ष इतिहासकै सबैभन्दा तातो थियो । यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो ।
डब्लुएमओले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ । ‘दुई तिहाइ क्षेत्रहरूमा अत्यधिक वा न्यून पानीको अवस्था छ, जसले हाइड्रोलोजिकल चक्रको बढ्दो अनियमितता देखाउँछ’, प्रतिवेदनमा भनिएको छ ।
तातो मौसमका कारण प्रमुख तालहरूको पानी गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष सबै क्षेत्रमा हिमनदीहरू सङ्कुचित भएको प्रतिवेदनले औँल्याएको छ । हिमनदी पग्लिँदा मात्रै गत वर्ष समुद्री सतह एक दशमलव दुई मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको उल्लेख छ ।
डब्लुएमओले विश्वभर जलस्रोतको अनुगमन र डाटा साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ । खडेरी, बाढी र हिमनदी क्षतिसम्बन्धी जोखिम व्यवस्थापनका लागि जलस्रोत र हाइड्रोलोजिकल चरम बुझ्न र नाप्न अपरिहार्य भएको प्रतिवेदनले जोड दिएको छ ।