दोहा, कतार : नयाँ र पुराना गरेर एक दर्जन कलाकारले कतारमा प्रस्तुति दिने भएका छन् । नेपालीहरूको विजयादशमीको अवसर पारेर दोहा वेभ्सले आयोजना गर्न लागेको “स्टार नाइट-२०२५” मा पुराना गायक कर्णदाससहित नयाँ पुस्ताका स्टार गायक तथा मोडेल दुर्गेश थापाले सांगीतिक प्रस्तुति दिने भएका हुन् । उक्त कार्यक्रमको मुनाफाबाट केही प्रतिशत रकम जेनजी आन्दोलनमा सहादत भएका शहीदका परिवारलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ ।
नेपाली, भोजपुरी, मैथिलीसहित अन्य भाषाका कलाकार समेटिएको स्टार नाइटमा युवा पुस्ताकी चर्चित गायिका सिर्जना खत्री “हाउडे माया”, गायकहरू सन्नु कुमार र सञ्जय देवकोटा, नायिका शिवि शर्मा, नृत्याङ्गना प्रीति पासवान, सफल सगरमाथा आरोही कविता नेपाली र सपना चौहानले प्रस्तुति दिने भएका छन् ।
त्यस्तै विरासतलाई फर्केर हेर्दा “ब्याक टु नाइन्टी” ब्यान्डले समेत आफ्ना कालजयी गीत प्रस्तुत गर्नेछन् । मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस, भेगाबोन्डका कलाकारहरू समेटेर “विरासतलाई फर्केर हेर्दा” नामकरण गर्दै ७ वटा ब्यान्डले सामूहिक सहकार्य गरेका छन् । ब्यान्डले जिन्दगीको के भरोसा, अनौठो व्यथा भएछ, ठुला ठुला महल हैन, बस सुन्दरी, चाइना कम्पनी, पागल प्रेमी, यो जिन्दगानी, यो मुटुमा माया मेरो, अन्जानैमा, डुङ्गे साहुको मेलामा, पहिलो नजर अनि पहिलो भेट लगायतका गीतहरू पेस गर्ने गरी कार्यक्रमको तयारीलाई तीव्रता दिइएको संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
सनैयामा अवस्थित ग्राण्डमलको एमपीथ्रीएटर सभा हलमा हुने कार्यक्रमका लागि साँझ ५ बजेबाट गेट खुल्ला हुने भएको छ । दर्शकहरूको सहजतालाई ध्यानमा राख्दै टिकटका लागि विभिन्न सपिङ महल तथा अनलाइन मार्फत पनि लिन सकिन व्यवस्था आयोजकले मिलाएको छ । कार्यक्रमका लागि टिकटको दर गोल्ड ४०, प्लटिनियम ६०, भिआइपी ८०, रेड कार्पेट २०० कतारी रियल मूल्य कायम गरिएको छ भने रेड कार्पेट टिकटको खरिदमा ५० करी छुट को व्यवस्था समेत गरिएको छ । कार्यक्रमका बारेमा थप जानकारी चाहिएमा ७०६६५६४४ र ३१५७८३०८ मा सम्पर्क गर्न सकिन्छ । स्टार नाइटलाई भिक्टोरिया गोल्ड एन्ड डायमन्डले मुख्य प्रायोजन गरेको छ ।