२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिए

shivam cement
मध्यान्ह
२०८२ भदौ २१ गते २०:२१
नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल र बंगलादेशबीच शनिबार दशरथ रंगशालामा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेपछि खेल बिना गोल टुंगिएको हो ।

खेलको सुरुवातमा बंगलादेशले गोल गरेको थियो, तर रेफ्रीले अफसाइडको निर्णय सुनाए । २९औं मिनेटमा नेपालका मणि लामाको फ्रि–किकमा अनन्त तामाङको फ्लिकलाई बंगलादेशका गोलकिपर मोहम्मद सुजोन हुसेनले रोके । त्यस्तै, ३९औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाको प्रहार क्रसबारमाथिबाट बाहिरियो ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने प्रयास जारी राखे। ६८औं मिनेटमा नेपालका जिलेश्पीजंग कार्कीको लामो दूरीको प्रहार बंगलादेशका गोलकिपरले बचाए । ७६औं मिनेटमा बंगलादेशका रकिब होसेनको पासमा सोहेल रानाको शक्तिशाली प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले २१ महिनापछि दशरथ रंगशालामा खेल खेलेको हो । यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालले यमनविरुद्ध खेलेको थियो । शनिबारको खेल हेर्न ४ हजार ८ सय ८ दर्शकले टिकट किनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल मंगलबार दशरथ रंगशालामा हुनेछ । यदि दोस्रो खेल पनि बराबरीमा सकिएमा पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिनेछ । एन्फाले दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी प्रदान गर्ने बताएको छ ।

यो खेलले दुवै टोलीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने अवसर प्रदान गरेको छ । नेपाली टोलीले घरेलु दर्शकको साथमा दोस्रो खेलमा जित निकाल्ने लक्ष्य राखेको छ ।

ADV

सम्बन्धित खबर

Advertise