२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

सन्देशमूलक कथा संग्रह : ‘खोक्पा’

shivam cement
२०८२ भदौ ७ गते ०६:१०
सन्देशमूलक कथा संग्रह : ‘खोक्पा’

–कुमार काफ्ले

प्राचीन कालदेखि नै पूर्वीय र पाश्चात्य साहित्यमा कथाको निकै लामो परम्परा रहिआएको छ । पूर्वमा ऋग्वेदजस्ता वैदिक साहित्यमा कथाको सूत्रात्मक बीजरूपी पाइन्छ भने पश्चिममा मिश्र देश (इजिप्ट)को शिलापत्रमा अंकित गाथालाई सर्व प्राचीन उदाहरण मानिन्छ । पूर्वमा होस् या पश्चिममा, कथालाई कार्यमूलक उद्देश्यको परिधिभित्र सीमित पारिएको हुँदा पाठक र स्रोतालाई मनोविनोद गराउन, अतीतका घटनालाई क्रमबद्ध रूपमा बताउन र भावी कुराहरूबारे जानकारी दिन कथा रचिन्थ्यो । इसाको १९औं शताब्दीपछि भने काल, परिस्थितिको मागले गर्दा एक पूर्ण सचेत कला, आफ्नै मौलिक शिल्प र अनुवंशलाई कायम राख्दै कथा साहित्यको विकसित भयो । वर्तमानमा यो विधा शीघ्र परिवत्र्य स्वरूप लिएर निरन्तर अघि बढिरहेको छ ।

साहित्यका विविध विधामा कलम चलाउने स्रष्टा डीआरको कथासंग्रह ‘खोक्पा’ नवीनतम् कथा कृति हो । कृतिको नामै अनौठो छ । यसको अर्थ के होला भनेर नखोतली कथा पढ्नतिर लागें । पेज टर्नरले २०८० मा प्रकाशन गरेको यो कृतिमा ११ थान कथा छन् ।

पहिलो कथा ‘बुढो रुख’ सहरदेखि आफ्नै थातथलो फर्केको म पात्र ‘दीपे’ र नन्दलाल उर्फ नन्देको भेटघाट र गफगाफ वरिपरि घुमेको छ । कथाको विषय प्रकृति जुन केही वर्ष पहिलेसम्म सुन्दर थियो तर अहिले अत्यधिक दोहन र विनाशको कारण कुरुप बन्दै गइरहेको छ । नन्दलालका बुढा बा जगन्नाथको सम्झना, चिनो र बाँच्ने सहारा घर नजिकैको एक रुख जुन उनीजस्तै दिनानुदिन वृद्ध हुँदै गइरहेको थियो । नन्दे वैदेशिक रोजगारीमा थियो । विदेशबाट फर्केपछि नन्दे बुढो रुख, जसले अब केही दिन सक्दैनथ्यो, न शीतल न त फल नै त्यसलाई ढाल्न थाल्छ । जब त्यो रुखमा बन्चरो बज्रिन थाल्छ तब बुढा बालाई असह्य चोट पुग्छ र ढल्न खोज्छन् । कथा सन्देशमूलक छ ।

‘पुच्का’ दोस्रो कथा, नाम नयाँ छ तर कथाको विषयवस्तु प्रेम, सम्बन्ध र व्यापार अपार भएको देखाइएको छ । जुन धेरै लेखिएकै विनय हो । तथापि कथाकारले नवीन शैली अपनाएका छन् । एउटा रेस्टुरेन्टमा बसेर म पात्र र रीतिका प्रेमालाप गर्छन् । अनेक सपना बुन्छन् र रेस्टुरेन्टमै पाइने एक स्पेसल परिकार पुच्का जुन पानीपुरीकै नयाँ भर्जन रहेछ, खान्छन् । उनीहरू रेस्टुरेन्ट मालिक पुकारलाई भेट्छन् र अन्ततः म पात्र त्यहीँ काम गर्छ । ‘पुकार र पुच्का’ नामक किताब लेख्छ, प्रख्यात हुन्छ । स्वदेशमै केही गर्न सकिन्छ भनेर दर्साइएको कथा रोचक छ ।

‘परिवर्तन’मा अमेरिकामा शिक्षा र सिप सिकेर स्वदेशमा नै कृषि कर्ममा रमाएका उदयमान कुनैबेला दीपिकाको हात माग्न गएका थिए । अमेरिका छोडेर नेपालमै केही गर्ने भनेपछि उनीहरूको बिहे भएको थिएन । भलै उदयमान र दीपिकाको देखादेख भएको भने थिएन, तस्बिर हेरेरै दीपिकाले उसलाई मन पराइसकेकी थिइन् । परन्तु बिहे भने अमेरिकामा बस्ने पुकारसँग भइदिन्छ । समयक्रममा पुकार उदयमानको फ्यान बन्छ । उसको कुरा मन पराउँछ, भेट्न जान्छ, घरमै लिएर आउँछ । दीपिकाले पनि उसका कुरा मन पराउँछे । कुराकै सिलसिलामा उदयमानले आफ्नो संघर्ष र जीवन कहानी कहन्छ । अन्ततः उदयमान नै पहिलेको उदीप हुन्छ, जसले दीपिकासँग बिहे गर्न लागेको थियो । दीपिका झसंग हुन्छे । कथामा ओ हेनरी शैलीको ट्वीस्ट छ ।

‘परिणाम’ शीर्षकको कथामा एउटा सानो तथा सुन्दर परिवार कसरी तहसनहस भएको छ भनेर देखाइएको छ । छिट्टै धनी बन्ने महत्वकांक्षाले पुष्पा अवैधानिक धन्दा ढुकुटी खेल्ने खेलाउने गर्न थाल्छे । लोग्नेको कुरा मान्दिन, उल्टै घमन्ड गर्छे । छोरीलाई समेत आफूसँगै बिगार्छे र अनेक हन्डर खान्छे । यस कथाले लोभले लाभ लाभले विलाप भन्ने उखान चरितार्थ गरेको छ ।

‘हराएको नाता’ बिदेसिएका सन्तानले वृद्धा आमालाई सके उतै लैजाने नसके आश्रममा राख्न खोज्ने समसामयिक विषयवस्तुमा आधारित छ । पारस र इभा क्यानडा बस्छन् । उनीहरू घर आउने खबरले आमा खुसीले पुलकित हुन्छिन्, सदाभन्दा छिटै उठ्छिन् । छोरा बुहारीले उतै जान कर गर्छन्, मान्दिनन् । अन्तिममा घर भाडामा लगाएर आमालाई आश्रममा छोडेर उनीहरू जान्छन् । सानैदेखि हुर्काएको भीमसेन विदेशबाट आएको बेला ऊ र उसकी जीवनसाथी शान्ता आमालाई भेट्न जान्छन् । कुराकानीको क्रममा सबै भावुक हुन्छन् । पछि भीमसेनले आमालाई आफैँसँग लान्छ र उनीहरूकै काखमा आमाले प्राण त्याग्छिन् । कथा आदर्शोन्मुख छ, कतिपय बेला कथाकार सिधै उपदेश दिन थालेको आभास हुन्छ ।

‘रवि’ आत्मसंयम गुमाउनाले, क्षणिक भावनामा बग्नाले जिन्दगी कसरी नारकीय बन्छ ? छिटै सफल हुने छिटोछरितो मार्ग छैन । त्यसको लागि निरन्तर परिश्रम र साधना चाहिन्छ भनेर सुन्दर सन्देश दिने कथा हो । अनेक दुःख, कष्ट, हैरानी पश्चात् रक्षा र विवेकको भेट हुन्छ तर त्यो भेट अपेक्षित छैन । पीडादायक मिलन दर्दले भरिएको छ ।

‘नयाँ बाकस’ वैदेशिक रोजगारीमा जान विवश नेपाली समुदायले भोग्नुपरेको तीतो यथार्थ हो । सुन्दर सपना सजाएर रोजगारीमा जाने युवा युवतीको परिवार कसरी विखण्डित भइरहेको छ ? कतिले कसरी आफ्नो जिन्दगी बरबाद गरिरहेका छन् ! कतिको इहलीला समाप्त भएको छ ! परिवारका सदस्यहरूको अपेक्षा कस्तो हुन्छ ? बालमष्तिष्कमा कस्ता कुराहरू खेल्दछन् ! यावत् पक्षको मिहिन रूपमा प्रस्तुत गरिएको छ ।

‘गाड्धन’ गाउँमा बस्ने टारघरे बुढा आफ्नो बारीमा ठूलो धन राशि गाडेर राखेको सपना देख्थे । उनलाई सपना कसरी पूरा गर्ने केही सुझेको थिएन । गाउँका युवाहरूले खेलमैदान बनाउन बुढाको टारबारी माग्न जान्छन् । सपना पूरा गर्ने आसमा बुढा जग्गामा डोजर लगाएर खोतल्छन् । केही नभेटेपछि मानसिक रूपमा विक्षिप्त हुन्छन् । परिवारका सदस्यले सम्झाई बुझाइ गरेपछि सामान्य जीवनमा फर्किन्छन् । उनी सम्मानको पात्र बन्छन् । एउटा सामान्य मानिसले पनि चाहेमा केही योगदान गर्न सक्छन्, भलै बुढा भने परिबन्दमा फस्दाफस्दै समाजसेवी बनेका थिए । कथाले सन्देशमूलक उदाहरण प्रस्तुत गरेको छ ।

‘लाहुरेको निशानी’ शीर्षकको कथामा आफ्नो नाभि गाडिएको ठाउँमा केही त गर्नै पर्छ भन्ने सुन्दर सन्देश छ । भोकबहादुर र झोकबहादुर बालसखा हुन्, उनीहरू उबेलाका रमाइला पल सम्झँदै जागिरे जिन्दगीका सुख दुःखका बात गर्छन् । छुट्टीमा आएका जागिरेहरूले गाउँ भेला गरेर गाउँमा विकासका काम थालनी गर्नुपर्छ भनेर बुझाउँछन्, पहलकदमी लिन्छन् ।

‘मायाको चिनो’ मा जातीय विभेदको जाँतोमा पिँधिएको प्रेम कहानी छ । किशोरी अवस्थामा छाया एक जनासँग प्रेममा परिन्, उनीहरूबिच शारीरिक सम्पर्क समेत भयो । छाया दुई जीउकी भइन् तर केटोले छोडेर गयो । छायाको एकतर्फी प्रेमको निशानी सुबिनको बिहे गर्ने बेलामा केटी पक्षले उसको बाउ र जातको कुरा निकालेर दुव्र्यवहार गरेर कथाकारले अन्धविश्वासले जकडिएको समाजको चित्रण गरेका छन् । त्यसपछि कथा फिल्मी शैलीमा अगाडि बढ्छ र सुखान्तमा कहानी टुङ्गिन्छ ।

अन्तिम कथा ‘लङ्गडो साथी’ एउटा शिक्षकले कक्षाकोठामा आफ्ना विद्यार्थीहरूलाई सुनाएको मार्मिक थाको कहानी हो । कथामा स्थानीय गाउँ, बजार र भञ्ज्याङको यथार्थ चित्रण छ ।

कथाकारले कथाको सिर्जना वा हेतु जीवनोपयोगी सन्देश दिनु हो भनेर स्वीकार गरेका छन् र उनका हरेक कथामा केही न केही सन्देश दिएका छन् । ग्रामीण परिवेश, बाल्यकालको सम्झना, रैथाने भाषा, संस्कार, संस्कृति र झर्रो लवज मिसिएका कथासंग्रहका कतिपय कथामा पर्यावरणीय चेतनाको सुन्दर मुहार देख्न सकिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise