त्यो दिल अरूको खातिर, खाली नहोस् सधैंभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैंभर
हाम्रो पियारदेखि, आगो बनोस् न पानी
इष्र्या गरोस् त त्यस्तो, पानी बलोस् सधैंभर ।
गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुगध बने ।
शुक्रबार १६०औं मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल सांगीतिक गजल साँझ, २०८२’मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल संगीत थियो ।
तिमी रापिलो छौ, बलेको मकलझैं
यता दिल छ मेरो, सुकेको सिमलझैं
प्रायः शृंगारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल खुबै गर्माएको थियो ।
समसामयिक विषयलाई पनि सुन्दर ढंगले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल संगीतमैत्री रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।
गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु÷कारण बताउँदा चैं, तिम्रै बताइदिन्छु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो ।
गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०–२०९० लाई नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए ।
ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल संगीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन’, ओझाले भने, ‘यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो ।’
ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल संगीतमा नयाँ इतिहास रचेको दाबी गरे ।
समालोचक प्रा.डा. देवी नेपालले नेपाली गजल लेखनसँगै संगीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे ।
गजलकार तथा संगीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे ।
वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।
अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ ।