काठमाडौं : राजधानीमा बिहीबार आयोजित ‘चौथो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८२’मा यस वर्ष बजारमा आएका १ सय ५० भन्दा बढी तिज गीतलाई समेट्दै विभिन्न २१ विधामा अवार्ड वितरण गरिएको छ ।
समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई ‘म्युजिक खबर विशिष्ट नारी सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै, अभिनेत्री दीपाश्री निरौला तथा गायिकाद्वय मञ्जु थापा र हरिमाया गुरुङलाई ‘नारीरत्न सम्मान’ दिइयो। सोही कार्यक्रममा राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलाले ‘कला सम्मान’ पाए भने सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे र करुणा श्रेष्ठलाई ‘सौन्दर्यकर्मी सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी मञ्जु सिंह र गंगा पन्थ ‘सामाजिक सेवा सम्मान’बाट सम्मानित भए भने मनुकुमारी पन्तले ‘संगीत व्यवसायी सम्मान’ र पूजा क्षेत्रीले ‘गायन सम्मान’ प्राप्त गरिन् ।
तिज गीततर्फ प्रकाश कटुवालले ‘म त माइत जाने हो’बाट सर्वोत्कृष्ट तिज दोहोरी गायकको अवार्ड जिते भने ‘नाच्छु म बुरुक बुरुक’ गीतकी गायिका मधु रसाइली सर्वोत्कृष्ट तिज दोहोरी गायिका घोषित भइन् । सरिता भारतीले ‘नाच्छ भने नाच्न दे’बाट सर्वोत्कृष्ट मौलिक तिज गायिकाको अवार्ड पाउँदा दीपक शर्मा ‘किन्दिने हो कल्ले ?’बाट सर्वोत्कृष्ट मौलिक तिज संगीतकार बने ।
यस्तै दीपक घिमिरेले ‘आमा र माइतीको माया’ गीतबाट सर्वोत्कृष्ट मौलिक तिज गीत शब्दको अवार्ड प्राप्त गरे भने सचिन भट्टराई ‘कस्की छोरी होला’बाट सर्वोत्कृष्ट तिज दोहोरी संगीततर्फ सम्मानित भए । ‘सासूको तिज’ गीतकी सुजाता केसी र एलिना चौहानलाई संयुक्त गायनतर्फ उत्कृष्ट घोषित गरियो भने विष्णु न्यौपानेले ‘सम्पत्ति कमाउन’बाट सर्वोत्कृष्ट दोहोरी शब्दकारको अवार्ड पाए ।
भिडियो र मोडलिङतर्फ विजय पुन र करिश्मा ढकाल क्रमशः पुरुष र महिला मोडलतर्फ उत्कृष्ट ठहरिए भने संयुक्त मोडलको अवार्ड रितु तामाङ र सलिना नेपालीले पाए । निर्देशक शिवन पोखरेल, कोरियोग्राफर मुकेश नेपाली, भिडियो सम्पादक विनोद बम, श्रृंगार विधामा गीता विक र भिडियोतर्फ दुर्गा पौडेलले अवार्ड हात पारे ।
डायस्पोरा श्रेणीमा पनि अवार्ड वितरण गरिएको थियो, जसअन्तर्गत कुमारी रेग्मीले ‘आयो रे आयो तिज’बाट गीतकार, विनोद शाहीले ‘परदेशीको तिज’बाट निर्देशक र विन्दु पौडेलले ‘यिनका बुढाले’ गीतबाट गायिकाको अवार्ड पाए ।
यसैगरी मञ्जु पौडेलले ‘छैन नि चोलिया’बाट सर्वोत्कृष्ट तिज गीतको अवार्ड जितिन् भने मौलिक तिज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले प्राप्त गरिन् । संगीतकारतर्फ पब्लिक च्वाइस अवार्ड विष्णु भण्डारीले पाए भने मौलिक संगीत संगीतकारको जुरी अवार्ड रेशम चौधरीलाई प्रदान गरियो । दोहोरी गायिका जुरी अवार्ड भने सन्जु न्यौपानेले जितिन् ।
समारोहमा संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डकी अध्यक्ष सबिता पोखरेललगायत अतिथिहरूले विजेतालाई सम्मान गरेका थिए। कार्यक्रममा रितु तामाङ, रविना भण्डारी र करिश्मा ढकालले नृत्य प्रस्तुत गरेका थिए भने अन्जु गौतमले गायन प्रस्तुति दिएकी थिइन् ।
अवार्ड आयोजक शुभकामना मिडियाकी अध्यक्ष सबिता पोखरेलले नेपाली तिज गीतको प्रवर्धनका लागि विगत चार वर्षदेखि यो अवार्ड आयोजना गर्दै आएको बताइन् ।