–उद्धव सिलवाल
मुलुकमा रहेका युवाहरू सबै विदेश पलायन हुन थालेपछि गाउँ घर युवाविहीन भइसकेका छन् । युवाहरू विदेशी भूमिमा रहेका कारण स्वदेशमा रहेका आस्रित परिवारका आर्थिक गतिविधिमा संकुचन देखिन थालेको छ । हाम्रा लाखौं जनशक्ति बाह्य मुलुकको रोजगारी आस्रित छन् । ग्रामीण क्षेत्र दिनप्रतिदिन सुनसान बन्दै गइरहेका छन् ।
वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा कोभिडको कारण वैदेशिक रोजगारीमा जाने संख्या १ लाख ६६ हजार ६९८ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने विदेश जाने संख्या बढेर ६ लाख ३० हजार पुग्यो । आर्थिक वर्ष २०७९/८० मा पनि विदेश जाने क्रम बढेको देखिन्छ । उक्त वर्ष ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा पनि विदेश जाने संख्या केही घटेर ७ लाख ४१ हजारमा सिमित रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा भने वैदेशिक रोजगारीमा जाने संख्या अत्यधिक बढेर ८ लाख ३९ हजार पुगेको तथ्यांकले देखाएको छ ।
यी माथि उल्लेख गरिएको तथ्यांकले कोभिडपछि विदेश जाने संख्या बढ्न थालेको देखाउँछ । कोभिडपछि वैदेशिक रोजगारीमा जाने संख्या बढ्नुमा स्वदेशमा रोजगारी नपाउनु, योग्यताअनुसार काम नपाउनु, अर्थतन्त्रमा सुधार नदेखिुन जस्ता कारण रहेका छन् । वैदेशिक रोजगारीमा जानु रहर नभएर बाध्यता हो । घर परिवार छोडेर जानु परेको कारण एन्जाइटी, डिप्रेसन र आत्महत्याको जोखिम पनि विदेशमा त्यत्तिकै बढेको छ । सन् २०२० मा प्रकाशित ‘नेपाली आप्रवासी कामदार र उनीहरूका परिवारको मानसिक स्वास्थ्य समस्या’ नामक एक अध्ययनले विदेशिएका कामदारका पत्नि र आमामा एन्जाइटी, डिप्रेसन र आत्महत्या गर्ने सोच आउने जस्ता समस्या रहेको देखाएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा आत्महत्या गर्ने मजदुरको संख्या पनि बढ्न थालेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगारीको लागि विश्वका एक सय ४४ भन्दा बढी देशमा नेपाली युवा पुगिसकेका छन् । नेपाली श्रमशक्ति द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा समेत रहेका छन् । सरकारले श्रम स्वीकृतिका लागि रोक लगाएका देशमा समेत नेपाली युवा पुगेका छन् । वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन् । वैदेशिक रोजगार विभागको विगत १० वर्षको तथ्यांकअनुसार खाडी र मलेसियामा मात्रै ३५ लाख नेपाली युवा गएको देखिन्छ । खाडीमध्ये कतारमा सबैभन्दा धेरै श्रमिक पुगेका छन् । पछिल्लो समयमा खाडी र मलेसियाबाट रोजगारी युरोपतर्फ मोडिएको छ । युरोपियन मुलुकहरूले पनि आप्रवासी कामदारको माग गर्न थालेपछि नेपाली युवाको श्रम गन्तव्य मोडिन थालेको हो ।
गाउँ युवाविहीन हुँदै छन् भने सहरमा बेरोजगारी समस्या बढ्दो छ । रोजगारीको अवसर नपाएर बेरोजगार भएका युवा जमात बढ्दो क्रममा छन् । रोजगारीको लागि युवाहरू आफ्ना जमिन बाँझो राखेर बिदेसिन बाध्य छन् । स्वदेशमा भविष्य खोज्न नसकेपछि बिदेशिनु बाहेक अर्को विकल्प देखिँदैन । बेरोजगारी कल्पना गरेभन्दा भयावह छ । युवालाई स्वदेशमा राख्न अब आफ्नो स्रोतको सदुपयोग गनुपर्ने समय आएको छ । बाँझो जमिनको सही ढंगले प्रयोग गर्न सके मात्र पनि देश आत्मनिर्भर हुन सक्छ । युवा पलायन रोक्न रोजगारी सिर्जना, सहज व्यवसाय गर्ने अवसर, भ्रष्टचारको अन्त्य, समान अवसर र पहुँचलाई मुख्य उपायका रूपमा लिनुपर्छ । राज्यले युवालाई राष्ट्र निर्माणमा समाहित गर्न सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाले मुर्त रूप लिने थियो ।
युवा पलायनको मुख्य कारण बेरोजगारी, सहज जीवनयापन गर्ने वातावरण नहुनु, थोरै कमाइ र गरिबीलगायतकलाई मुख्य कारण मानिएको छ । अशिक्षित जनशक्ति मात्रै नभई दक्ष जनशक्तिको रूपमा रहेका नर्स, चिकित्सक, इन्जिनियरहरू पनि विदेशतर्फ नै आकर्षित हुने गरेका छन् । केही दिनअघि मात्रै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएर अमेरिका पलायन भए । डा. रामेश जस्तै अन्य स्वास्थ्यकर्मी जागिरको समस्याले नभइ भ्रष्टाचार र कुशासनको पीडाको कारण स्वदेशमा काम गर्न नसक्ने अवस्था आएकोले विदेशिन थालेका हुन् ।
पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु मुख्य समस्याको रूपमा रहेको छ । सर्वसाधारणमा जीवनस्तर सुध्रने विश्वास हराउन थालेको छ । देशभित्र बसेर दैनिक जीवनयापन गर्न समेत नसकिने भएपछि बिदेशिनु युवाहरूको बाध्यता हो । देशले अवसरको सदुपयोग गर्नुभन्दा वैदेशिक रोजगारीमा जाने संख्याको नयाँ रेकर्ड बनाउनेतर्फ मात्रै राज्य अग्रसर रहेको छ । एक छाक मिठो मसिनो खानाको लागि खाडी मुलुकमा गर्मीमा पसिना बगाउन युवा वर्ग बाध्य छन् । गाउँ घर रित्तो हुन थालेको छ । मर्दा–पर्दासमेत युवा जुट्न नसक्ने विकराल अवस्था सिर्जना भइसकेको छ । तर, नेत्रृत्व उही क्रोनिक्यापिटलिज्ममा रमाइरहेको छ ।
अहिले बैंकहरूसँग अधिक लगानी योग्य रकम (तरलता) रहेको कारण बैंकको ब्याजदर घटे पनि युवा विदेश जाने क्रम बढेको छ । स्वदेशमा युवा जनशक्ति कम भई वस्तु तथा सेवाको खपत घटेको छ । रोजगारी सिर्जना गर्ने जस्ता कुरालाई पनि नेतृत्वले सानो रूपमा लिएको कारण युवा वर्ग विदेश पलायन भइरहेका छन् । हामी कहाँ जनशक्तिको माग हुने वातावरण सिर्जना हुन सकेको छैन । जनशक्ति माग हुने वातावरणको लागि कल–कारखाना खोलिनुपर्छ । कल कारखाना खोल्नको लागि निजी क्षेत्रबाट ऋणको माग हुनुपर्छ । घट्दो ब्याजदरमा बैंकहरूसँग लगानीयोग्य रकम बढिरहे पनि कर्जा प्रवाहमा आएको सुस्तता कायमै रहेको छ । बैंकसँग भएको पैसा उत्पादनमा पनि आउन सकेन । उत्पादकहरू ऋण माग्न आउनै छाडिसकेका छन् । ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा कर्जा लाने कार्य पनि ओझेलमा पुगेका जस्ता कारणले युवा पलायन गराउन सहयोग पुर्याएको देखिन्छ ।
राजनीतिक नेतृत्वको ‘इगो’ र ‘इन्ट्रेस्ट’का कारण देश बर्बादीतिर धकेलिएको छ । आम नागरिक र मुलुकको हितार्थ काम गर्नुपर्नेमा निहीत स्वार्थमा अलमलिनु हामी सबैका लागि घातक विषय बाहेक अरू हुन सक्दैन । युवाहरू देशभित्र बसिरहेमा बेरोजगारीले चरम रूप लिन सक्छ । जसले उनीहरूमा असन्तुष्टि र निराशा बढाउन सहयोग पुर्याउँछ । अन्ततः त्यस्ता व्यक्ति र समुदाय नै राज्य व्यवस्थाको विरुद्ध आन्दोलन वा विद्रोहमा जान सक्छन् ।
अहिले श्रमिक मात्रै नभई ठूलो संख्यामा विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् । उच्च शिक्षा अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैदेशिक अध्ययनका लागि दिएको अनुमतिपत्र एनओसी (नो अब्जेक्सन सर्टिफिकेट)लाई आधार मान्दा एनओसी लिने विद्यार्थीको संख्या वार्षिक रूपमा १ लाख नाघ्न थालेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १ लाख १२ हजार ९६८ जना, आर्थिक वर्ष २०७९/८० मा १ लाख १० हजार २१७ जना, आर्थिक वर्ष २०८०/८१मा १ लाख १२ हजार ९६८ जनाले वैदेशिक अध्ययनको प्रयोजनार्थ एनओसी लिएका थिए । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा ८३ हजार ६ सय ९५ जनाले एनओसी लिएको तथ्यांकले देखाएको छ ।
यी माथि उल्लेख गरिएका तथ्यांकहरूले राज्य नेत्रृत्व गरिहेको राजनीतिक दल वा प्रतिपक्षमा रहेको अन्य राजनीतिक दलले वैदेशिक पलायनलाई सकारात्मक रूपमा हेरिरहेको देखिन आएको छ । युवा अभावमा सहजै र लामो समय नेत्रृत्वमा बस्न सहज हुने सोचाइको कारण युवा पलायन रोक्नेतर्फ उल्लेखनीय कार्य हुन सकेको छैन । देशको राजनीति जेरोन्टोक्रेसीमा निर्भर रहेको कारण युवा वर्ग वैदेशिक रोजागरीमा पलायन हुनु रहर नभएर बाध्यता बन्न पुगेको छ ।