–शंकरमान सिंह
निकोलो माकियाभेलीले करिब ४६ वर्षको उमेरमा लेखेको ‘द प्रिन्स’ शक्ति प्राप्ति र त्यसको स्थायित्वका लागि कस्तो व्यवहार अपनाउनुपर्छ भन्ने विषयमा केन्द्रित पुस्तक हो । उनले यस पुस्तकमा नैतिकता भन्दा प्रभावकारिता र दक्षतालाई प्राथमिकता दिएका छन् । यो पुस्तकले शासकहरूले कहिले काहीँ अनैतिक उपायहरू पनि अपनाउनुपर्छ भन्ने तर्क गर्छ, यदि त्यसले राज्यको हितमा काम गर्छ भने ।
यदि कसैले ‘द प्रिन्स’बाट केही सिक्नुपर्छ भने त्यो शक्ति प्राप्त गर्न र टिकाइ राख्नका लागि चालबाजी वा हेरफेरको प्रयास गर्नेहरू विरुद्ध सतर्क रहनु हो । राजनीतिज्ञ, नेताहरू जो सामाजिक वा आर्थिक लाभको लागि प्रेरित हुन्छन् – तिनीहरूसँग व्यवहार गर्दा बुद्धिमानीपूर्वक सोच्न यो पुस्तकले मद्दत पुर्याउँछ ।
उनले शक्तिको प्राप्ति र त्यसको संरक्षणलाई राजनीतिक नेतृत्वको केन्द्रमा राखेका छन् । उनी राजनीतिलाई आदर्शको चश्माबाट नभई यथार्थको दृष्टिबाट हेर्नुपर्ने कुरामा जोड दिन्छन् । परिणामको आधारमा उपायहरूको मूल्यांकन गर्नु उपयुक्त ठान्छन् । नेता नैतिक देखिनु पर्दछ, यद्यपि आवश्यकता परे अनैतिक उपायहरू अपनाउनु पर्ने हुन सक्छ । जसबारे उनी व्याख्या गर्छन् । परिस्थितिको आधारमा रणनीति परिवर्तन गर्न सक्ने क्षमता एक सफल शासकको विशेषता भएको उनी बताउँछन् । भाग्यले केही हदसम्म भूमिका खेल्दछ, तर अन्ततः शासकको निर्णय क्षमता निर्णायक हुने लेखको ठम्माई छ । शक्तिको स्थायित्वका लागि बलियो सैन्य संरचना आवश्यक ठानिएको छ । मानिसहरू स्वार्थी र अविश्वसनीय हुन्छन् भन्ने उनको धारणा छ । स्पष्ट निर्णय लिन सक्ने, कठिन निर्णय लिन डर नमान्ने र सम्मान पाउने नेता प्रभावकारी ठहरिन्छन् ।
नेपालको राजनीति विगतका शासकीय प्रणालीहरू – राणा शासन, राजतन्त्र, प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, सशस्त्र संघर्ष हुँदै गणतन्त्र स्थापनासम्म – विभिन्न चरण र संघर्षबाट गुज्रिएको छ । चुनावबाट प्रतिनिधि आउँछन्, तर त्यो आवश्यक रूपमा नेता हुन्छन् भन्ने होइन । नेतृत्व एउटा विशेष गुण हो, जुन अनुभव, दृष्टिकोण र उत्तरदायित्वबाट विकास हुन्छ । त्यसैले चुनाव जित्ने नै नेता भन्ने सोच भ्रमपूर्ण छ, जस्तै पद धारण नगरेका वा चुनावमा सहभागी नभएका व्यक्तिहरू पनि प्रभावशाली नेता हुन सक्छन् । नेपालको सबैभन्दा गहिरो संकट नेतृत्वको संकट हो, जुन केवल राजनीतिमा मात्र सीमित छैन; यसले घर, संस्था, समाज सबै क्षेत्रमा असर पारिरहेको छ ।
हामी धेरैजसो नेतृत्व व्यक्तिमा खोज्ने गल्ती गर्छौं, जब कि नेतृत्व व्यवस्थामा, मूल्यमा, कार्यशैलीमा खोजिनुपर्छ । हामी आधुनिकता देखिन्छौं, तर विचार पुरातन छन् । सुविधामा आधुनिक छौं, तर संस्कारमा अलपत्र । नियामक निकायहरू प्रभावकारी नभएसम्म सेवा प्रवाहमा सुधार सम्भव हुँदैन ।
नेपालमा आज धेरै नागरिक केवल भिसा नपाएकै कारण देशमा बसिरहेका छन् । यो गम्भीर सामाजिक–मनोवैज्ञानिक समस्या हो, जसको मूल कारण सुशासनको अभाव हो । सुशासन केवल नारामा होइन, व्यवहारमा देखिनु आवश्यक छ । र, त्यसको लागि संस्थागत उत्तरदायित्व अपरिहार्य छ ।
‘जसरी पनि सत्तामा पुग, पदमा बस, अनि त्यहाँ टिकिराख’ भन्ने भनाई जस्तै नेपाली राजनीतिमा व्यवहार प्रायः यस्तै देखिन्छ । सत्ताबाट बाहिरिएपछि पनि पुनः शक्ति प्राप्तिका लागि कुनै न कुनै माध्यम अपनाउने प्रवृत्ति विद्यमान छ ।
अहिलेको नेपाली राजनीति ‘सत्ताको कुर्सी’ वरिपरि घुमिरहेको छ । विचार, दर्शन र मूल्यको राजनीतिलाई बिर्सेर अधिकांश नेताहरू सत्ताको लडाइँमा लागेका छन् । केही नेताहरू यति निरन्तर रूपमा सत्तामा टिकिराख्न चाहन्छन् कि शारीरिक अवस्था कमजोर भए पनि सक्रियता छोड्दैनन् । संसदीय व्यवस्थाको प्रारम्भमा जनताको आशा ठूलो थियो – जतिसुकै भोट ल्याए पनि सांसद बन्ने, मन्त्री बन्ने – यस्तो खुला व्यवस्था भएको देश अन्यत्र छैन भन्ने तर्क अघि सारिएको थियो । तर अहिले राजनीतिक विचार, संगठन र कार्यशैली सँगसँगै हराउँदै गएको देखिन्छ ।
नेपालमा अधिकांश दलहरू विचारभन्दा सत्ता केन्द्रित देखिन्छन् । यसले गर्दा विचारविहीन सरकार निर्माण भएका छन् । सत्ता बाहेक सबै कुरा भ्रम हो भन्ने सोच माक्र्सवादी र गैर–माक्र्सवादी दुबै धाराहरूमा देखिन्छ । हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, तर स्थिरता, सुशासन र समृद्धिको अपेक्षा अनुसारको परिणाम देखिएको छैन । सरकारहरू परिवर्तन भइरहन्छन्, प्रदेश सरकारहरू अझै प्रभावकारी बन्न सकेका छैनन् ।
राजनीति केवल सत्ताको खेल होइन, यो राष्ट्र र नागरिकको भविष्यसँग जोडिएको विषय हो । यसलाई सही दिशामा लैजान राजनीतिक दल, सरकार, नागरिक समाज र आम नागरिक सबैको सक्रिय सहभागिता आवश्यक छ । माकियाभेलीको ‘द प्रिन्स’मा भनिएजस्तै नेतृत्वमा दीर्घकालीन सोच, इमानदारिता, पारदर्शिता भएमा मुलुक उज्यालोतर्फ जानसक्छ ।