–विश्वनाथ खरेल
भनिन्छ कि भगवान् श्रीकृष्णको पृथ्वीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्ण प्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ व्रत बस्दै श्रद्धापूर्वक मनाउने गर्दछन् । यस दिन भक्तजनहरू उपवास बस्छन् र मध्यरातमा भगवान् श्रीकृष्णको पूजा–अर्चना गर्दै रातभर भजन, कीर्तन तथा कथा श्रवण गर्दै जाग्राम बस्छन् । श्रीकृष्ण जन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधवार परेमा विशेष शुभ मानिन्छ । यही नक्षत्र र बुधबारमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ ।
हाम्रो देशको सन्दर्भमा हेर्दा, कृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका प्रायः सबै कृष्ण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । विशेषतः ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा यस अवसरमा दिनभर हजारौँ श्रद्धालुहरूको भीड लाग्दछ । यस मन्दिरमा दर्शन गर्न राष्ट्र प्रमुख स्वयं उपस्थित हुने प्रचलनसमेत रहिआएको छ । सो क्रममा राष्ट्रपतिले मन्दिरका पुजारीबाट टीका थापी जल तथा पुष्पप्रसाद ग्रहण गर्ने धार्मिक परम्परा रहेको पाइन्छ । त्यस्तै, उपत्यकाको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनहरूको ठूलो उपस्थिति देखिन्छ । यसै अवसरमा काठमाडौंको असनदेखि बालकुमारीसम्म विभिन्न स्थानहरूमा श्रीकृष्णका तस्बिरहरू सजाएर झुन्ड्याउने चलन पनि छ ।
श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम–प्रसंगका कारण यो महिनालाई प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । यसलाई पूर्वीय जगतको प्रेम दिवसका रूपमा लिइन्छ, जुन पश्चिमी सभ्यताबाट आयातित ‘भ्यालेन्टाइन डे’ को सांस्कृतिक प्रभावको सट्टामा हाम्रो मौलिक परम्पराको प्रेमोत्सव हो । त्यसैले श्रीकृष्ण जन्माष्टमीको दिन श्रद्धालुहरू साँझ स्नान–पूजा गरी मध्यरातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्राम शिलालाई कोक्राभित्र राख्छन् । ठिक मध्यरातमा त्यस शिलालाई बाहिर निकालेर हर्षोल्लासपूर्वक जन्मोत्सव मनाइन्छ । यसलाई श्रीकृष्णको जन्मको प्रतीकात्मक घटनाको रूपमा लिइन्छ । त्यसपछि भगवानलाई पञ्चामृत वा शुद्ध जलले स्नान गराई श्रीखण्ड, चन्दन, तिल, अक्षता र फूल अर्पण गरी पूजा गरिन्छ । भगवानलाई वस्त्र र जनै चढाई धूप–दीप बालिन्छ र भोग अर्पण गरिन्छ । भोगमा विशेषतः हलुवा, पेढा, मिठाई, केरा, नासपाती, स्याउ आदि फलफूल राखिन्छ । त्यसपछि भजन–कीर्तनसहित आरती गरी पुष्पाञ्जली अर्पण गरिन्छ र साष्टाङ प्रणाम गरी अखण्ड दीप प्रज्वलित गरिन्छ । यसैगरी रातभर श्रीकृष्णको भजन–कीर्तन गाएर जाग्राम बस्ने परम्परा छ ।
भगवान् श्रीकृष्ण पौराणिक ग्रन्थहरूमा मात्र नभई ऐतिहासिक पुरुष पनि हुन् भन्ने चर्चा चल्न थालेको छ । भगवान श्रीकृष्णसँग सम्बन्धित तिथि–मितिबारे संस्कृतिकर्मी नुतनधर शर्माले एक सांस्कृतिक पत्रिकामार्फत केही तथ्यहरू प्रस्तुत गरेका छन् । उनका अनुसार श्रीकृष्णको जन्म मथुरा नगरीमा भाद्र कृष्ण अष्टमीको दिन ३२२८ ईसा पूर्वमा भएको हो । उहाँले १२५ वर्षको उमेरमा फागु पूर्णिमाको दिन अर्थात् फेब्रुअरी १८, ३१०२ ईसा पूर्वमा देहत्याग गर्नुभएको थियो । यही दिनदेखि कलियुगको आरम्भ भएको मानिन्छ । अर्का विद्वान् विश्वनाथ चक्रवर्तीका अनुसार भगवान श्रीकृष्णले जीवनका सुरुवाती ३ वर्ष ४ महिना गोकुलमा, त्यसपछिका केही वर्ष वृन्दावन, नन्दग्राम र द्वारकामा बिताउनुभएको थियो ।
अतः पृथ्वीमा पूर्णब्रह्म श्रीकृष्णले मानव जीवनमाथि कृपा बर्साउने उद्देश्यले अनेक प्राणीहरूको रूप लिएर अवतरण गर्नुभएको धार्मिक मान्यता छ । जब श्रीकृष्णको हृदयमा मनुष्यप्रति अहैतुकी कृपा गर्ने इच्छा हुन्छ, तब स्वयं भगवान् श्रीकृष्णले कुनै अवतारको रूपमा नभई प्रत्यक्ष नन्दबाबा र यशोदा मैयाको घरमा नर–लीला गर्न मनुष्यका रूपमा जन्म लिने गर्नुहुन्छ । यसैले, कंशको अत्याचारबाट मथुरा र मथुरावासीलाई मुक्त गराउन तथा भगवद्गीतामा वर्णित जीवनोपयोगी धर्मदर्शन संसारलाई दिनका लागि श्रीकृष्णको अवतार भएको हो भन्ने कुरामा दुईमत छैन ।
भगवान् श्रीकृष्णको पावन अवतार भगवान् चैतन्य महाप्रभुले कलिकालका जीवहरूको कल्याणका लागि विशेष रूपमा भगवान्को नाम संकीर्तनको शिक्षा दिनुभएको हो । वास्तवमा साधनाहरूमा भगवान्को नामजस्तो सरल, श्रेष्ठ र सुलभ साधना अरू छैन, जसले भक्तिलाई प्रेममा रूपान्तरण गर्दछ । यही नाम–स्मरण शास्त्रमा प्रेम–प्राप्तिको परम उपायको रूपमा मानिएको छ । आज संसारभर धेरै मानिसहरूले दुःख भोग्नुको मूल कारण नै यही भगवत्स्मरणबाट टाढा हुनु हो । त्यसबाट मुक्त हुने एकमात्र उपाय श्रीकृष्णको शरणागति नै हो । यही शरणागतिको भावनामा आधारित रही वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ ।
जसरी कंशले देवकी र वासुदेवलाई जेलमा कैद गरेर राखेका थिए, त्यही अवस्थामा श्रीकृष्णको जन्म भएको थियो । चारैतिर सैनिक सुरक्षा रहे पनि भगवान् विष्णुको मोहिनी शक्तिका कारण श्रीकृष्ण जन्मिने बेला सबै सैनिकहरू गहिरो निद्रामा थिए । त्यही बेला वासुदेवलाई ‘नवजात शिशु श्रीकृष्णलाई वृन्दावनस्थित मित्र नन्दको घरमा पुर्याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहिनी शक्तिका प्रभावले गर्दा यो रातलाई मोहरात्रि पनि भनिन्छ । वासुदेवले नन्दको घरमा श्रीकृष्णलाई पु¥याएर, त्यही रात नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर फर्किएपछि मात्र सैनिकहरू ब्युँझिएको महाभारतमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले पापका प्रतीक मामा कंशको वध गरी हजुरबा उग्रसेन तथा आफ्ना माता–पिता देवकी र वासुदेवलाई जेलमुक्त गराउनुभयो । यसै घटनाको स्मृतिमा अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित राख्ने उद्देश्यले भगवान् विष्णुले मानिसको रूप लिई श्रीकृष्णको रूपमा जन्म लिनुभएको धार्मिक भावनाको सम्मानस्वरूप श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव जातिलाई प्रेरणा दिनुभयो । कौरव र पाण्डवबीच कुरुक्षेत्रमा भएको धर्मयुद्धमा अर्जुनको सारथिका रूपमा रहँदै युद्धका माध्यमबाट सत्य पक्षमा दृढ रहन प्रेरणा दिनुभयो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवद् गीता हो, जसलाई हिन्दूहरूको अत्यन्त पवित्र ग्रन्थको रूपमा लिइन्छ ।