काठमाडौं : गायिका सरिता भारतीले कृष्ण जन्म अष्टमीको अवसर पारेर ‘राधा’को भेषमा फोटोसुट गरेकी छन् । उनी भगवान कृष्णको प्रेमिका राधाको अवतारमा तस्बिरमा प्रस्तुत भएकी हुन् । कृष्ण जन्म अष्टमीको अवसर पारेर सबैलाई शुभकामनासहित आफू यो अवतारमा तस्बिरमा प्रस्तुत भएको सरिताले बताइन् ।
विगत एक दशकदेखि गायनमा सक्रिय सरिताले गत साता मात्र आफ्नै एसबी क्रियसन नेपाल युट्युब च्यानलबाट नयाँ तिज गीत ‘नाच्न दे’ सार्वजनिक गरेकी थिइन् । आफ्नो स्वरमा करिब दुई दर्जन गीत बजारमा ल्याइसकेकी सरिताको यही भदौ ११ गते झरीसम्बन्धी नयाँ लोक गीत बजारमा आउँदैछ ।
अग्रज गीतकार डब्बु क्षत्रीको शब्द र ओम सुनारको संगीतमा झरीसम्बन्धी यो लोक गीत बजारमा आउन लागेको उनले जानकारी गराइन् । यतिबेला अरु नयाँ दुई वटा गीत रेकर्डको तयारीमा रहेकी सरिताले तिजको अवसरमा भदौ १ गते आयोजना हुने तिज क्विन विशेष कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिने भएकी छन् ।