रौतहट : महालेखा परीक्षकको टोलीले रौतहट जिल्लास्थित सरकारी कार्यालयहरूको लेखापरीक्षण कार्य सुरु गरेको छ । मंगलबार जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा औपचारिक रूपमा टोलीले काम प्रारम्भ गरेको हो ।
महालेखा परीक्षकको कार्यालयका निर्देशक सुनिलराज खनालका अनुसार टोलीले रौतहटका १८ वटा स्थानीय तहसँगै सबै प्रादेशिक तथा संघीय सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने छ । असोज ५ गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहित हाल ३ टोलीले काम सुरु गरिसकेको र चाँडै चौथो टोली पनि रौतहट पुग्ने उनले जानकारी दिए ।
लेखापरीक्षण सुरु गर्नुअघि टोली, जिल्ला स्तरीय सरकारी कार्यालयका प्रमुख तथा लेखा प्रमुखहरूको संयुक्त बैठक भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी विनोद खड्काले लेखापरीक्षणमा पूर्ण सहयोग गर्न निर्देशन दिए । उनले लेखा कर्मचारीको कमीका कारण एकै जना लेखा प्रमुखले पाँच वटा कार्यालयको कामकाज गर्नुपरेको र यसले सुशासनमा असर परेको बताए ।
“लेखापालहरु कार्यालयमा बस्दैनन्, बाहिरै बसेर काम गर्ने गरेको गुनासो आएको छ । यो गम्भीर विषय हो,” खड्काले भने । उनले समयमा कार्यालयमा उपस्थित भई काम पूरा गर्न समेत निर्देशन दिएका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, लेखा कर्मचारी, महालेखा परीक्षक टोलीका सदस्य तथा सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।