काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सीके राउत र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच कुनै तुलना नै हुन नसक्ने बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले सो कुरा बताएका हुन् ।
'हामी अलग ठाउँमा छौँ । तथापि प्रचण्ड जनयुद्धको नेतृत्व गरेर आएका मानिस हुन्,' उनले भने, 'सम्झौता गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने ठाउँ सम्म पुर्याएको । अहिले सीके राउत र प्रचण्ड उस्तै हुन् भन्न मिल्छ ?' सीके राउतले पृथकतावादी बाटो छाडेका हुन् भने उनले आत्मसमर्पण गरेको ठहर गर्दै डा. भट्टराईले प्रश्न गरे, 'के बाबुराम भट्टराई र प्रचण्ड आत्मसमर्पण गरेर शान्तिप्रक्रियामा आएका हुन् ?'
भट्टराईले प्रधानमन्त्रीले एकल निर्णयले सेना परिचालन गर्न सक्ने व्यवस्थायुक्त विधेयकमाथि प्रश्न उठाएका छन् । उनले त्यस्तो व्यवस्था सैन्य 'कू'लाई आमन्त्रण भएको बताए । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सबै अधिकार आफूमा केन्द्रित गर्न नपाइने डा भट्टराईको भनाइ छ । 'संसारभर कहीँ पनि यस्तो चलन छैन', उनले भने।
त्यस्तै उनले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको बताएका छन् । विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै नियमन गर्न सकिने भन्दै सरकारले हतारमा प्रतिबन्ध गर्नु ठीक नभएको उनले बताएका हुन् । ‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्यो ’ उनले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies