काठमाडौं : नेपाली हास्यव्यंग्यको विकास र प्रोत्साहनका लागि सक्रिय फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले यस वर्षका सम्मान र पुरस्कार घोषणा गरेको छ ।
फित्कौलीको ‘हास्यव्यंग्य राष्ट्रिय सम्मान २०८२’ हास्यव्यंग्यकार मुकुन्द आचार्यलाई प्रदान गरिने छ । यस सम्मानमा नगद रु. २ हजार १ सय ५, सम्मानपत्र र दोसल्ला अर्पण गरिनेछ । त्यस्तै, ‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान २०८२’ वरिष्ठ हास्यव्यंग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई प्रदान गरिने छ, जसअन्तर्गत सम्मानपत्र, नेपाली ढाकाटोपी र दोसल्ला अर्पण गरिनेछ ।
यससँगै ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यंग्य प्रतिभा पुरस्कार’ काठमाडौंका माणिकरत्न शाक्य, ‘फित्कौली राष्ट्रिय हास्यव्यंग्य निबन्ध पुरस्कार’ पोखराका शेषराज भट्टराई, ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय कविता पुरस्कार’ ओखलढुंगाका डिल्लीप्रसाद मूलतिहुन, र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार’ भक्तपुरका कविराज घिमिरेलाई अर्पण गरिने भएको छ । यी चारै पुरस्कृतलाई जनही नगद रु. १५ हजार १ सय ५ र सम्मानपत्र प्रदान गरिनेछ ।
पुरस्कार प्राप्त व्यक्तिहरूको छनोट चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र प्रा.डा. मुकेशकुमार चालिसे सदस्य रहेको समितिले गरेको हो । समितिको अन्तिम बैठक २०८२ साउन १८ गते बसेर सर्वसम्मत निर्णय गरिएको हो ।
यी सम्मान तथा पुरस्कार भदौ अन्तिम साता हुने फित्कौलीको वार्षिकोत्सव समारोहमा अर्पण गरिनेछ । यसअघि फित्कौलीले चोलेश्वर शर्मा, आरसी रिजाल, गायत्री लम्साल, महेश थापा, काशीनाथ मिश्रित, खगेन्द्र नेउपाने, सुभाषचन्द्र देवकोटा, देवीप्रसाद चापागाइँ, रामशरण न्यौपाने, दीनानाथ पोखरेल र कार्टुनिष्ट राजेश मानन्धरलाई सम्मानित गरिसकेको छ ।