२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

मोहन कार्कीको ‘स्वदेश गान’को छायांकन सम्पन्न

Nada
२०८२ साउन २४ गते २०:३४
Shares
मोहन कार्कीको ‘स्वदेश गान’को छायांकन सम्पन्न

काठमाडौं : पत्रकार तथा जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीको रचना रहेको ‘हाम्रो देशमा अव्यवस्थित गाउँ–सहर छ, मलाई सुन्दर नेपाल बनाउने रहर छ’ बोलको स्वदेश गानको छायांकन सम्पन्न भएको छ । गीतको छायांकन २०८२ साउन २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिएको हो ।

गीतको निर्देशन दिनेश एसकेले गरेका छन् भने छायांकन रामेश्वर जिरेलले गरेका हुन् । छायांकनमा राष्ट्रिय कलाकार सुवास गजुरेल, संगीतकार माधव भण्डारी, रुपक डोटेल तथा चर्चित कलाकार एकराज गराच, सञ्चिता शाही, सुनिता खड्का, अभिचन्द्र कार्की, विजेन्द्र नौबागे, दीपक बराल, देवी प्रसाद चौलागाईं, बिनोद कार्की, विनोद नेपालीसहित बाल कलाकारहरूको सहभागिता रहेको थियो । कलाकारहरूको मेकअप राजिना बज्राचार्यले गरेकी छन् ।

कार्कीले केही दिनअघि उक्त गीतको रचना सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । रचना मन परेर विजेन्द्र नौबागेले तुरुन्तै संगीत भरिदिए भने माधव भण्डारीले संगीत संयोजन गरे । रुपक डोटेल र उषा गजुरेलले गीतमा स्वर दिएका छन् । कोरसमा एनिस एन्जल राई र लक्ष्मी स्याङतानको स्वर रहेको छ ।

‘स्वदेश गान’को म्युजिक भिडियो जन आकाश मिडियाको १८औं वार्षिकोत्सवको अवसरमा साउन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको बालकृष्ण प्रेक्षालयमा सार्वजनिक गरिने कार्कीले जानकारी दिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि रहनेछिन् ।

सम्बन्धित खबर